बेलबारी/ चार छोरी मध्येकी साईली छोरी हुन सुलोचना राजवंशी । उमेरले तिन दशक पुरा गरिसकेकी सुलोचना शारीरिक हिसाबले स्वस्थ्य देखीएता पनि मानसिक स्वस्थ्य हुन सकेकी छैनन् ।

१५ वर्षदेखी मानसिक स्वास्थ्य गुमाएकै कारण उनी केही समय अघिदेखी आफ्नै घरमा फलामको साङ्लोले बाँधिएर बस्न बाध्य छिन् । उनलाई परिवारले उपचार नगरी राखेको भने हैन । 

मोरङको बेलबारी ९ डाँगिहाटका दरपचन्द राजवंशी ७५ वर्षका भए उनकी श्रीमती दार्खोदेवी ६८ की भईन । उनीहरुको ७ छोरा र ४ छोरी गरी ११ सन्तान भए जसमध्ये ३ छोराको मृत्युभई सकेको छ  भने १ छोरी मानसिक रोगी छन् ।

उमेरले डाँडो काटेका यो बृद्ध जोडिलाई स्याहार सुसारको खाँचो छ तर आँफै जवान छोरीको सुसारमा लाग्नुपरेको छ । छोरी मानसिक रोगी भएकै कारण परिवारमा हाँसो छाउन सकेको छैन । दरपचन्द भन्छन् सुखको दिन कहिलै आएन ।    

सानै उमेरदेखी अलिक जिद्दि स्वभावकि सुलोचना घरै छेउमा रहेको विद्यालयमा पनि केहि वर्ष पढेको बुवा दरपचन्द बताउँछन् । करिब १५ वर्षअघि खै के भयो–भयो एक्कासी छोरीले होस् गुमाएको दरपचन्द बताउँछन् । उनका अनुसार विरामी भए लगत्तै धेरै धाँमी झाक्री र डाक्टरलाई देखाएको तर कुनै पार नलागेको बताउँछन् ।

धेरै पटक धरानस्थीत विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल अस्पताल विराटनगर लगेर उपचार गर्दा लाखौ रुपैयाँ सकियो तर खासै उपलब्धी नभएको दरपचन्द बताउँछन् । ऐलानी जमीनमा सानो फुसको घर बनाएर बसेका दरपचन्दले महंगो ब्याजदरमा साहुसँग ऋण लिएर छोरीको उपचारमा लगाए तर छोरीको स्वास्थ्यमा कुनै उपलब्धी नभएपछि उनको परिवार निरास भेटिन्छ् ।

तर अझै पनि राजवंशी परिवारले हरेस खाएको छैन जहाँ लगेर भएपनि छोरीको उपचार गराएरै छाड्ने त्यसको लागि सबैले सहयोग गरिदिन बुबा दरपचन्द राजवंशीले अपिल गरे ।

सुलोचनालाई नबाँधी राख्दा घरमा तोडफोड गर्ने भएकोले साङ्लोले बाधेर राख्नुपरेको परिवारले जनाएको छ । आफ्नो परिवारमा यस्तो समस्या पर्दासमेत हाल सम्म कुनै जनप्रतिनिधीहरु नआएको दरपचन्द बताउँछन् । सबैको साथ सहयोग मिले र उपचार गराउन सके छोरीलाई अवस्य पनि रोग निको हुनेमा परिवार आशावादि रहेका छन् ।