इनरुवा । सुनसरीमा जारी निषेधाज्ञा आजबाट भने खुकुलो पारिने भएको छ । जेठ ३१ गते सम्मलाई जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गरेको सुनसरी प्रशासनले आजबाट भने निषेधाज्ञा केहि खुकुलो पार्ने भएको हो ।  

जिल्ला प्रशासन कार्यालय सुनसरीमा हिजाे बसेको डीसीसीएमसीको बैठकले सरोकारवालासँगको छलफल पश्चात निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो । उद्योग वाणिज्य संघका पदाधिकारीहरु सँगको छलफल पश्चात डीसीसीएमसीले त्यस्तो निर्णय लिएको हो ।  

जस अनुसार आजबाट सुनसरीको हकमा खाद्यान्न लगायत, स्टेसनरी, माछा, मासु, दुध र फलफूलको विक्ति वितरणलाई सहज बनाइने छ ।  

बैठकको पछिल्लो निर्णय सँगै भोलिबाट खाद्यान्नका पसल (डिपार्टमेन्ट स्टोरका ग्रोसरी कक्ष) समेत बिहान १० देखि अपरान्ह ३ बजे सम्म खोल्न पाइने छ । बैठकले उवासंघ र स्थानीय तहले सकेसम्म होम डेलिभरीको व्यवस्था मिलाउन भनेको छ । 

त्यसका साथै दुधडेरी तथा माछा,मासु पसल विहान १० बजे सम्म र बेलुका ४ देखि ७ बजे सम्म खुलाउन पाइने छ । 

यस्तै सो बैठकले फलफूल तथा तरकारी संकलन तथा ढुवानी निर्वाध गर्न पाइने भनेको छ । बिक्रीको हकमा भने १० देखि ३ बजेको अवधि भित्र ठेला गाडा समेतमा राखी घरघरमा पुर्याउन सकिने निर्णयमा उल्लेख छ । यद्यपि,सब्जी मण्डी, गुद्री, हाट बजारमा बिक्रि गर्न र त्यस्तो बजार लगाउन भने पाइने छैन् । 

डीसीसीएमसीले स्टेसनरी पसल समेत १० बजे देखि ३ बजे सम्म खोल्न दिने निर्णय गरेको छ । उक्त बैठकले स्वास्थ्यका मापदण्ड पालनामा भने कडाई गरिने जनाएको छ । उल्लंघन गरे नियम बमोजिम कार्वाही गरिने बताइएको छ । 

साथै सो बैठकले फ्रन्ट लाइनमा रही कार्यरत सुरक्षाकर्मी लगायत बैंक तथा वित्तिय संस्थाका कर्मचारी, व्यापारी तथा कानुन व्यवसायीहरुका लागि खोपको व्यवस्था मिलाउन प्रदेश सरकार समक्ष माग गर्ने निर्णय समेत गरेको छ । 

निषेधाज्ञा खुकुलो पार्ने विषय केन्द्रित गरी डाकिएको बैठकमा आमन्त्रित रुपमा सहभागी उवासंघका पदाधिकारीले व्यापारी तथा तिनका परिवारको हकमा खोप उपलब्ध गराउन माग गरेका थिए । इनरुवाको हकमा उद्योग वाणिञ्य संघका अध्यक्ष बिरेन्द्र साहले खोपको सुनिश्चितता मिलाउन प्रजिअ समक्ष ज्ञापन पत्रनै बुझाएका थिए ।