विराटनगर/प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीको छोरा रोबिन कार्कीले चलाएको कारको ठक्करबाट एक जना भारतीय नागरिक मृत्यु र अर्का एक जना मजदुर गम्भिर घाइते हुँदा पनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न ढिलाइ गरेको छ ।
दुर्घटनामा चालकको पहिचान खुलेपनि प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अगाडी बढाउन ढिलाइ गरेको हो ।
विराटनगरस्थित एयरपोर्ट रोडमा बिहीबार राती प्रदेशसभा सदस्य कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट मजदुर भारतीय नागरिक ३५ वर्षीया मुकेश शर्माको मृत्यु भएको थियो ।
अर्का मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । शर्माको कोशी अस्पतालमा मृत्यु भएको थियो भने राजवंशीको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते विराटनगर – ४ स्थित एभरेष्ट स्टिल उद्योगमा कार्यरत मजदुर हुन् ।
दुर्घटना भएको १२ घण्टा हुन लागेको र प्रत्यक्षदर्शीले दुर्घटनामा संलग्नको पहिचान गरिदिइसक्दा पनि रोबिनलाई प्रहरीले यो समाचार तयारपार्दासम्म नियन्त्रणमा लिएर सोधपुछसम्म गरेको छैन ।
कार चालक रोबिनसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको कारणले लाइसेन्सधारी नक्कली सवारी चालक खडा गरि सांसदको छोरा जोगाउन चलखेल सुरू भएको स्रोतको दाबी छ । ‘मोरङ प्रहरीमा रोबिनले चलाएको कारमा सवार किशोरीसँग बयान लिने काम भइरहेको छ ।
तर, पहुचवाला संसदको छोरा चालक रहेका रोबिनलाई अहिलेसम्म नियन्त्रणमा नलिकन घटना तोडमोड गरि जोगाउन चलखेल सुरू भएको छ,’ एक जना प्रत्यक्षदर्शीले भने । कार्कीले यसअघि पनि थुप्रै दुर्घटना गरेको स्रोतको दाबी छ । यद्यपि पहुँचमा भएको कारण उनी छुट्दै आएका थिए ।
यस्तो कानुनी व्यवस्था हुने भएपछि चलखेल
लाइसेन्स बेगार सवारी चलाएर दुर्घटनामा परि कुनै व्यक्तिको मृत्यु भए सवारी चलाउने चालक र सवारी धनीलाई ‘सवारी ज्यान मुद्दा’ दर्ता हुने कानुनी व्यवस्था रहेको छ । लाइसेन्स नहुने व्यक्तिको हकमा सवारी ज्यान मुद्दाको १६१ को दफा २ र दफा ४ आकर्षिक हुन आउँछ ।
उक्त कसुर पुष्टि भएको खण्डमा सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ । सवारी चालक अनुमति पत्र नभएको हकमा पनि थप सजायको व्यवस्था रहेको छ ।
सवारी ज्यान मुद्दाको दफा ४ मा चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रुपैयाँसमेत जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
यस्तै सोही मुद्दाको दफा ५ मा कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई दुई वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ ।
त्यही भएर पहुचवाला सांसदको छोरा रोबिनलाई घटनास्थलमा नदेखाइ लाइसेन्स भएका व्यक्ति खडा गरेर मुद्दा मिलाउन प्रहरीलाई दाबव दिने गरेको स्रोतको दाबी छ । विन्दिया नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभामा प्रतिनिधित्व गर्छिन् । उनी आवद्ध भएका पार्टीका केही पहुचवाला नेताहरूले सुरक्षा निकायलाई अहिले दबाव दिने गरेको बुझिएको छ ।
मापशे गरेपछि दुर्घटना
सुरक्षा स्रोतका अनुसार बिहीबार साझ रोबिनसहित पाँच जनाले विराटनगरको मुनालपथस्थित एक होटलमा मधिरा सेवन गरेको खुलेको छ ।
सो होटलमा रोबिनले मुस्ताङ्ग बियर खाए । त्यसपछि कारमा तीन जना सवार भएर उनीहरू धरान–विराटनगर सडक हुदै उत्तरतर्फ हानिए । तिव्र गतिमा हुइकिएको कार अनियन्त्रित भइ एयरपोटमोडमा दुई जना पैदलयात्रीलाई ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ । दुर्घटना भएपछि रोबिन फरार छन् ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार कारमा दुई युवती पनि सवार थिए । दुर्घटना लगत्तै तीनै जना कारबाट निस्किएर फरार भएको प्रत्यक्षदर्शीको भनाइ छ । ‘दुर्घटना भएपछि हामी भेला भएर घाइतेको उद्धारमा व्यस्त भयौँ,’ एक स्थानीयले भने, ‘त्यतिबेलै कार चालक युवा र दुई युवती कार घटनास्थलमै छाडेर फरार भएछन् ।’
दुर्घटनापछि उनी राति विराटनगरकै विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुगेका थिए । मदिराको नसामा लट्ठ रहेको अवस्थामा रोविन आएको र त्यसपछि कता गए भन्ने थाहा नभएको अस्पतालका एक कर्मचारीले बताए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । दुर्घटनास्थल एशियाटीक होटल र जगदम्बा स्टिल हार्डवेयरको बीचमा रहेका कारण प्रहरीले सिसी टिभी फुटेज र सबै कोटदेखि चालकको पहिचान गर्ने काम सुरु गरेको डिएसपी राईले बताए ।
प्रहरीले कारमा रहेका अन्य केहिको पहिचान भईसकेको बताएको छ । ‘कारमा रहेका बहिनीहरुलाई हामीले सोधपुछका लागि बोलाएका छौं । अहिले अनुसन्धान भइरहेको छ,’ डिएसपी राईले भने, ‘केहिबेरमा उनीहरुबाट थप जानकारी पाउनेछ । त्यसपछि घटनामा संलग्न सबैलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउनेछौं ।’ प्रहरी कसैको दबाव र प्रभावमा नपरी प्रहरीले सत्यतथ्य छानविन गरि दोषीलाई कारवाहीको दायरामा ल्याउने उनको भनाई छ ।