विराटनगर/ प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीको छोरा रोबिन कार्कीले चलाएको कारको ठक्करबाट एक जना मजदुरको मृत्युको भएको छ ।

विराटनगरस्थित एयरपोर्ट रोडमा बिहीबार राती प्रदेशसभा सदस्य कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट मजदुर भारतीय नागरिक ३५ वर्षीया मुकेश शर्माको मृत्यु भएको हो ।

शर्माको उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रदेश सभासदस्य बिन्दियाका छोरा रबिनले चलाएको कारको ठक्करबाट अर्का एक जना गम्भिर घाइते भएका छन् ।

मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका हुन्  ।

उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगमा काम गर्दथे ।

उनीहरू उद्योगमा काम सकेपछि एयरपोड मोड हुदै पैदल गर्दै कंन्चनबारीतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् । 

कार प्रदेशसभा सदस्य बिन्दियाका छोरा रोबिन कार्कीले चलाएका प्रत्यक्षदर्शीले बताएका छन् । बिन्दिया कार्की नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य हुन् ।

प्रहरी स्रोतका अनुसार बिहीबार तीन जना साथीसँग रोबिन एयरपोट मोर्डमा रहेको ह्यास टयाक रेस्टुरेन्टबाट खाजा खाएर निस्किएका थिए । रेष्टुरेन्टनबाट निस्कदा रबिनसँग अन्य दुई जना किशोरी कारमा बसेका थिए ।

तर अनियन्त्रित रुपमा रहेको कारले दुई जना पैदलयात्री लाई ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ । दुर्घटना भएपछि रविन फरार छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले दुर्घटना गराउने चालकको खोजी कार्य भइरहेको जानकारी दिए । ‘दुर्घटना कसले गराएको पहिचान गरि खोज्ने काम भइरहेको छ,’ उनले भने, ‘अहिले हामी अनुसन्धान गर्दै आएका छौं ।’