वराहक्षेत्र । यिनी राजपरिवार नजिकका आफन्त पनि होइनन् । न यिनी राजावादी नै हुन् । धेरै नागरिक जस्तै यिनी पनि गणतन्त्रका खातिर लडे । राजसंस्थाविरुद्धमा लडे । तर पनि यिनले त्यो दिन कहिल्यै बिर्सिएनन्, जुन दिन राजदरबार हत्या काण्ड भयो ।

आज राजदरबार हत्याकाण्डको २० औं वर्ष पूरा भएको छ । राजदरबार हत्याकाण्डको अन्तर्यमा होइन तर त्यो दिनको सम्झना र श्रद्धामा विगत २० वर्षझैं आज पनि उनले आफ्नो केश मुण्डन गरेका छन् । वराहक्षेत्र चतराका पत्रकार हिमाल राई राजदरबार हत्याकाण्डको सम्झनामा केश मुण्डन गरेर श्रद्धासुमन अर्पण गरिरहेका छन् । दरबार हत्याकाण्ड भएको खबर सुन्ना साथ आफ्ना तत्कालीन प्रिय राजारानीप्रति श्रद्धाञ्जली अर्पण गर्दै धेरैले केश मुण्डन गराए । भावविह्वल नहुने जनता कोही देखिएनन् । 

himal rai

राजा वीरेन्द्रको वंश नास भएको कालो दिनको श्राद्ध गरिरहेका छन् पत्रकार राई । २० औं वर्षदेखि वर्षेनी यो सिलसिलालाई चतराका पत्रकार राईले निरन्तरता दिइरहेका छन् । ‘राजा वीरेन्द्रको राष्ट्रवाद, मुलुकलाई शान्तिक्षेत्र बनाउने उनको संकल्प, माओवादीविरुद्ध सेना परिचालन गर्न नहुने उनको विचार, मुलुकलाई द्वन्द्वमा धकेल्न नहुने उनको दूरदृष्टिका कारण आज पनि राजा वीरेन्द्रप्रतिको आस्था छँदैछ,’ पत्रकार राई भन्छन्, ‘राजा वीरेन्द्रजस्तो राष्ट्रवादी नेता, सुशासन, स्थायित्व, विकास र मुलुकलाई शान्तिक्षेत्रका रुपमा विकास गर्ने संकल्प आजका नेतामा हुनुपर्छ ।’

चिहानमा पुगेको राजसंस्था अब जागेर आउन नसक्ने बताउँदै पत्रकार राईले आजको नेतृत्वले राजसंस्थाका राम्रा पक्षलाई ग्रहण गर्न सक्नुपर्ने बताउँछन् । राष्ट्रवाद, सार्वभौमसत्ता सुसम्पन्न नेपाली नागरिकको आत्मस्वभिमान र मुलुकको गौरव बचाइराख्न राजनीतिक नेतृत्व सदैव सचेत रहनुपर्ने पत्रकार राई विचार राख्छन् । 

‘जसरी अन्तर्राष्ट्रिय मिडियाहरु आफ्नो मुलुकको गौरवका लागि सानासाना विषयमा पनि राष्ट्रियतालाई अगाडि ल्याउँछन्, राष्ट्रियता, भूगोल, संस्कृतिका विषयमा सचेत छन्, त्यसैगरी नेपाली मिडियाले पनि राष्ट्रियताको विषयमा संवेदनशील हुनुपर्छ, ’ पत्रकार राई भन्छन्, ‘इतिहास पनि हाम्रो सम्पदा हो, राजसंस्थाको ऐतिहासिक गरिमालाई पनि भुल्न हुन्न ।’