इनरुवा । कोरोना महामारीको चपेटामा परेका विपन्न र असहायको सहयोगमा सामाजिक सञ्जालमा थालिएको अभियानमा १५ लाख बढी सहयोग जुटेको छ ।
अमेरिकामा बस्दै आएका डाक्टर हरिवंश दुलाल र कतारमा रहेका उत्तम राईले सामाजिक सञ्जालमा चालेको अभियानमा १५ लाख बढी रकम जुटेको हो ।
विभिन्न मुलुकमा रोजगारीका क्रममा रहेका नगरवासीले सहयोग गर्ने क्रम बढेसँगै विपन्न र असहायका लागि घरदैलोमा राहतका सरसामान पुर्याउन समेत थालिएको छ ।
इनरुवाबासीलाई लक्षित गरी थालिएको अभियानमा घरदैलोमा राहत पुर्याउने जिम्मेबारी भने स्थानीय सामाजिक युवा समूह इनरुवा इभेन्ट म्यानेजमेन्टले गर्दै आएको छ ।
राकेश निरौला नेतृत्वको युवा टोलीले देश विदेशबाट जुटेको सहयोग लक्षित परिवारको घरदैलोमा पुर्याउँदै आएको छ ।
राहत वितरण पूर्व वास्तविक पीडित वर्गको पहिचान गरेको इनरुवा इभेन्ट म्यानेजमेन्टले छाक टार्न धौधौ हुने परिवारका साथै असहाय, अशक्त, अपाङ्ग र एकल महिलालाई प्राथमिकतामा राखी राहत घरलौरी पुर्याई दिने गरेको बताएको छ ।
म्यानेजमेन्टले सबै खर्च समेत सामाजिक सञ्जालमार्फत नै सार्जजनिक गर्ने जनाएको छ । त्यसका साथै अभियानकर्मीहरुले जुटेको रकम र राहत वितरणको पारदर्शीताका लागि मिडियाकर्मीहरुलाई समेत अनुगमन गरिदिन अनुरोध गरेका छन् ।
महामारीको समयमा राज्यको मात्रै मुख ताक्नु उपयुक्त नहुने उनीहरुको बुझाइ छ । विषमपरिस्थितिमा राज्य संयन्त्रले सबै थेग्न र धान्न सम्भव हुन सक्ने कुरालाई मनन गरी सामाजिक दायित्व निर्वाहमा जुटेको अभियानकर्मीहरुको भनाइ छ ।
उनीहरुले इनरुवाले थालेको अभियान अन्यत्रका लागि समेत उदाहरण बन्न सके कोरोना महामारीको सहया्ेगमा आहतमा रहेकाहरुको हकमा राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।