इनरुवा कोरोना महामारीको चपेटमा परेका विपन्न र असहायको सहयोगमा सामाजिक सञ्जालमा थालिएको अभियानमा १५ लाख बढी सहयोग जुटेको छ । 

अमेरिकामा बस्दै आएका डाक्टर हरिवंश दुलाल र कतारमा रोजगारीका क्रममा रहेका उत्तम राईले सामाजिक सञ्जालमा चालेको अभियानमा १५ लाख बढी रकम जुटेको हो । 

विभिन्न मुलुकमा रोजगारीका क्रममा रहेका नगरवासीले सहयोग गर्ने क्रम बढेसँगै विपन्न र असहायका लागि घरदैलोमा राहतका सरसामान पुर्याउन समेत थालिएको छ । 

इनरुवाबासीलाई लक्षित गरी थालिएको अभियानमा घरदैलोमा राहत पुर्याउने जिम्मेबारी भने स्थानीय सामाजिक युवा समूह इनरुवा इभेन्ट म्यानेजमेन्टले गर्दै आएको छ । 

राकेश निरौला नेतृत्वको युवा टोलीले देश विदेशबाट जुटेको सहयोग लक्षित परिवारको घरदैलोमा पुर्याउँदै आएको छ । 

राहत वितरण पूर्व वास्तविक पीडित वर्गको पहिचान गरेको इनरुवा इभेन्ट म्यानेजमेन्टले छाक टार्न धौधौ हुने परिवारका साथै असहाय, अशक्त, अपाङग र एकल महिलालाई प्राथमिकतामा राखी राहत घरलौरी पुर्याई दिने गरेको बताएको छ । 

म्यानेजमेन्टले बै खर्च समेत सामाजिक सञ्जाल मार्फत नै सार्जजनिक गर्ने जनाएको छ ।  त्यसका साथै अभियानकर्मीहरुले जुटेको रकम र राहत वितरणको पारदर्शीताको लागि मिडियाकर्मीहरुलाई समेत अनुगमन गरिदिन अनुरोध गरेका छन् । 

महामारीको समयमा राज्यको मात्रै मुख ताक्नु उपयुक्त नहुने उनीहरुको बुझाई छ । विषम परिस्थितिमा राज्य संयन्त्रले सबै थेग्न र धान्न सम्भव हुन सक्ने कुरालाई मनन गरी सामाजिक दायित्व निर्वाहमा जुटेको अभियानकर्मीहरुको भनाई छ । 

उनीहरुले इनरुवाले थालेको अभियान अन्यत्रको लागि समेत उदाहरण बन्न सके कोरोना महामारीको सहयमा आहतमा रहेकाहरुको हकमा राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।