राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको काम कोरोनाका कारण प्रभावित भएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि लगाइएको निषेधाज्ञाले आयोजनाको काम जुन गतिमा हुनुपर्ने थियो त्यो गतिमा हुन नसकेको हो । आयोजनाको नहर निर्माण, तटबन्ध निर्माण र विद्युत् गृह निर्माणको काम प्रभावित भएको छ ।

आयोजनामा काम गर्ने केही मजदूरहरूसमेत बिरामी पर्न थालेपछि लम्किचुहा नगरपालिका क्षेत्रमा भइरहेको नहर निर्माणको काम पूर्णरुपमा प्रभावित भएको छ भने अन्य क्षेत्रको काम पनि आंशिक रूपमा मात्र भइरहेको आयोजनाका प्रमुख केदार श्रेष्ठले जानकारी दिए । अहिले आयोजनाको मुख्य क्षेत्रहरूमा निर्माणको कामहरूले निरन्तरता पाउन सकेको छैन ।

 कर्णाली नदी तटबन्धको काम भइरहेको भए पनि दौलतपुर घाटमा भइरहेको तटबन्धको काम समेत प्रभावित भएको छ । कोरोना संक्रमणबाट निधन भएकाको अन्तिम संस्कार दौलतपुर घाटमा हुने भएका कारण कामका लागि मजदूरहरू सो क्षेत्रमा जान डराउन थालेका छन् । आयोजनाको अन्य कामहरूलाई पनि निरन्तरता दिन समस्या भएको आयोजना प्रमुख श्रेष्ठले बताए ।

 मजदूर बिरामी पर्न थालेपछि काम ठेकेदार कम्पनीले काम बन्द गरेको छ । कार्यालयमा काम गर्ने केही कर्मचारीमा पनि कोरोना देखिएकाले काममा जानसक्ने अवस्था छैन । आयोजना प्रमुख श्रेष्ठले भने सानातिना कामहरू भइरहेका छन् । ठूला काम प्रभावित भएका छन् । अझै कतिसम्म प्रभावित हुन्छ भन्ने पनि भन्न सकिने अवस्था छैन ।

गत मङ्सिर १२ गते राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद वलीको नेतृत्वमा भएको आयोजनाको अनुगमनका क्रममा वैशाखभित्र आयोजनाको मुख्य नहरको उद्घाटन गर्ने र असार मसान्तसम्म विद्युत् गृहबाट विद्युत् उत्पादन गर्ने बताइएको तर केही प्राविधिक काम बाँकी रहेको भन्दै आयोजनाको मुख्य नहरको वैशाखमा उद्घाटन गर्न नसकिएको बताएको छ भने असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको विद्युत् गृहको काम पनि असारसम्म सम्पन्न नहुने भएको छ ।

 हामीले असारसम्म विद्युत् गृहको काम सम्पन्न गरी प्रवेशद्वारबाट पानी सप्लाइसम्म भए पनि गर्ने भनेका थियौ। आयोजना प्रमुख श्रेष्ठले बताए । काम अहिले पूर्ण प्रभावित भएको छ । सायद हामीले लिएको लक्ष्य पूरा हुँदैनहोला तर पनि हिम्मत हार्ने अवस्था छैन ।

निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले पनि काममा असर परेको छ । आयोजनाले निर्माण कम्पनीलाई निर्माण सामग्रीको आपूर्ति र काम गर्नेहरूलाई पास दिएको भए पनि मूल्य वृद्धि भएका कारण निर्माण कम्पनी महँगोमा सामग्री खरीद गरी विकासको काम अगाडि बढाउने मनस्थितिमा देखिएका छैनन् ।

 यस्ले पनि आयोजनाको काम समयमै सम्पन्न हुने अवस्था देखिदैन । रानी जमरा कुलरिया सिँचाइ आयोजना प्रमुख श्रेष्ठका अनुसार हालसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । आयोजनाको दोस्रो चरणको काम आव २०८०÷८१ मा सम्पन्न गरिसक्नुपर्ने छ । त्यो अवधिका काम सम्पन नहुने आयोजनाले बताउँदै आएको छ ।

 सामुदायिक वनमा भएको रूख कटान र मुआब्जा वितरणमा भएको ढिलाइले आयोजनाको काम पर धकेलिएको भए पनि अहिले कोरोनाका कारण आयोजनाको काम झन् प्रभावित भएको छ । हामी योभन्दा पनि छिटो काम गर्न सक्थ्यौ । पहिले मुआब्जा र वनको रूख कटानले हामीलाई काममा बाधा भयो । आयोजना प्रमुख श्रेष्ठले भने अब यी समस्याहरू समाधान भई  विकासले गति लिने अवस्थामा पुनः कोरोनाका कारण विकासको काम थला परेको छ ।

पहिलो चरणको कोरोना संक्रमण फैलिदा पनि आयोजनाको काम रोकिएको थिएन तर अहिले दोस्रो चरणको संक्रमणका कारण अवस्था बिग्रदै गएपछि आयोजनाको कामले कहिले निरन्तरता पाउने भन्ने कुनै यकिन गर्न सकिएको छैन ।

–––