वराहक्षेत्र/ वराहक्षेत्रको वडा नं. १ को चतरा बजारस्थित खहरेखोलामा निर्माणाधीन कल्भर्टको काम रोकिँदा स्थानीयलाई समस्या भएको छ ।

कल्भर्टको काम रोकिँदा चतराको मुख्य बजार प्रवेश गर्ने बाटो बन्द छ । यातायातका साधन मात्र होइन, मान्छे हिँड्नसमेत समस्या भएपछि व्यापार व्यवसायमा असर परेको स्थानीयले गुनासो गरेका छन् । गत चैतदेखि कल्भर्ट निर्माण थालिए पनि विवाद उत्पन्न भएपछि काम रोकिएको स्थानीयले बताए ।

बजार प्रवेश गर्ने मुख्य बाटो नै बन्द भएपछि निषेधाज्ञा भन्दा अघिबाटै व्यापार व्यवसाय चौपट भएको स्थानीय व्यापारीहरूले बताएका छन् ।

कल्भर्टको काम अलपत्र भएपछि व्यापार ठप्प भएको स्थानीय किराना पसल सञ्चालक वृजनन्दन साहले गुनासो गरे । उनले भने, ‘ग्राहक नै नआएपछि के व्यापार गर्नु, कसरी रोजीरोटी चलाउनु, कल्भर्टले हाम्रो विकासको साटो व्यापार नै डुबायो ।’

करिब तीन हप्तादेखि कल्भर्ट निर्माण कार्य रोकिएपछि समस्या भएको स्थानीय सुनचाँदी व्यवसायी प्रेम घिमिरेले बताए । उनले भने, ‘विकासको नाममा पैसा खन्यायो, काम भने आकाशको फल आँखा तरी मर भनेजस्तो छ ।’ दुई महिनामा पनि कल्भर्ट निर्माण नसकिँदा अलिअलि हुने व्यापार झनै ठप्प भएको उनले बताए ।

कल्भर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष गणेश सुब्बाले भने नगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण भएका कारण निर्माण कार्य प्रभावित भएको बताउँछन् ।

उनले कल्भर्टको जगमा आरसीसी ढलाइ गरेर छड लगाउने काम भएको र सोमबारबाट काम पुनः थालिने बताए । उनले इञ्जिनियर आउन नपाएकाले जसोतसो काम गरिएको र जेठको १५ गतेसम्म कल्भर्ट बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

कल्भर्टको लम्बाइ घटाइयो
आर्थिक वर्ष ०७७/७८ को नगर योजना अन्तर्गत नगरको १५ लाख अनुदान तथा जनश्रमदान १ लाख ६२ हजार रुपैयाँमा बन्दै गरेको कल्भर्टको लम्बाइ भने एक मिटर घटाइएको छ ।

योजनाअनुसार कल्भर्टको लम्बाइ १३ मिटर हुनुपर्ने हो । तर, हाल १२ मिटरको मात्र कल्भर्ट निर्माण भएको छ । अध्यक्ष सुब्बाले स्थानीयको अनुरोधमा एक मिटर घटाइएको बताए ।

कल्भर्टको चौडाइ ११ फिट र उचाइ साढे ४ फिट रहेको उनले बताए । चैतदेखि थालिएको कल्भर्टको निर्माण कार्य सम्पन्न मिति असार महिना रहेको अध्यक्ष सुब्बाले बताए ।