वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका वडा नं। ४ स्थित सर्दुखोलामा गिट्टी, बालुवा उत्खनन् गरिँदा धुलो उडेर समस्या भएको भन्दै स्थानीयले खोला उत्खनन्मा रोक लगाएका छन् ।

वडाको आन्द्रा मठस्थित खोलामा भइरहेको गिट्टी, बालुवा उत्खनन् रोक्न नगरपालिकाले चासो नदेखाएको भन्दै उनीहरूले खोला उत्खनन् बन्द गराएका हुन् । खोलामा करिब १५ दिनअगाडिदेखि सयौं टिपरले खोलाको गिट्टी र बालुवा ओसारिरहेका छन् ।

पटक–पटक जानकारी गराउँदासमेत नगरपालिकाले चासो नदेखाउँदा बाध्य भएर गाउँलेले खोलाको काम रोकेको नेकपा ९एमाले० पार्टी १ नं। प्रदेश कमिटी सदस्य लक्ष्मण चौधरीले बताए ।

राज्यले समेत कोरोना महामारीमा भीडभाड हुने काम नगर्न र सङ्क्रमणबाट जोगिनुपर्ने भनेको तर, क्रसर र टिपर लगातार चल्दा स्थानीयलाई समस्या भएको उनले बताए ।

‘भन्यो भने टिपरवालाहरू उल्टै थर्काउँछन्, सिडिओलाई लिएर आउने धम्की दिन्छन् । विरोध गर्यो भने एकातिर काम रोकेजस्तो गर्छन्, अर्कोतर्फ सुरु गरिहाल्छन् । हामी दिक्क भएका छौं’–चौधरीले गुनासो गरे ।

कोरोनाको विषम परिस्थितिमा सानालाई मात्र बन्द गराउने ठूलाले जे गरे पनि छुट दिइएको भन्दै चौधरीले जिल्ला प्रशासन, जिल्ला वन र वराहक्षेत्र नगरपालिकाको सहमतिमा यस्तो काम भएको दाबी गरे ।

खोलामा बिहान ३ बजेदेखि रातको ८ बजेसम्म टिपरले गिट्टी, बालुवा ओसार्ने गरेको र मुख्य सडक तीसबिघा, थापागाउँ, तीनकुने र धामडाँडालगायतका गाउँमा धुलो उडेर हैरान भएको स्थानीय पुष्पलाल राजधामीले बताए ।

उनले वडा नं.४ मा कोरोनाबाट २ जनाको मृत्यु भएकाले संवेदनशील बन्न आग्रह गरे । उनले भने, ‘गिट्टी, बालुवा उत्खनन् र ओसार–पसार गर्दा उड्ने धुलो धुवाँले रुघाखोकी लागेर गाउँभरि समस्या आए कसले जिम्मा लिने?’

नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत मनकुमार लिम्बूले अनुगमन गरेर कानूनी रूपमा खोलाको ठेक्का दिइएको तर, स्थानीयले अनावश्यक हस्तक्षेप गरेको बताए ।

उनले भने, ‘नगरकोे प्रमुख आर्थिक स्रोत भनेको खोला हो, खेर गइरहेको गिट्टी हामीले सदुपयोग गरेका हौं । यसो नगर्ने हो भने नपाको लक्षित बजेटको तीस प्रतिशत पनि पूरा हुँदैन ।’ नगरप्रमुख निलम खनालले यसविषयमा आफूलाई कसैले जानकारी नगराएको बताए । उनले जिल्ला प्रशासनको निर्णयमा नै खोला ठेक्का दिइएको बताए ।


गाउँमा धुलो उडेर समस्या भएको विषयमा नगरपालिकाले स्वास्थ्य मापदण्ड कायम गरेर बाटोमा पानी छिटेर गाडी चलाउन भनेको र त्यो उनीहरूले मान्नुपर्ने नगरप्रमुख खनालले बताए ।

नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ को बजेटको लागि राजश्व अन्तर्गत इटहरीको पाथीभरा कन्स्ट्रक्सनलाई १ करोड ३७ लाखमा ठेक्का दिइएको नगरको आर्थिक प्रशासन शाखा प्रमुख वीरेन्द्र यादवले बताए ।