ताप्लेजुङ जिल्लाको पाँच स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सम्पन्न भएको छ ।
गत वैशाख पहिलो सातादेखि जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य शुरु भई पाँच स्थानीय तहमा सम्पन्न भएर कोभिड–१९को संक्रमणका कारणले गत हप्ता स्थगित भएको छ । पाँच स्थानीय तहमा जम्मा २४ हजार २०४ जनाले राष्ट्रिय परिचयपत्र विवरण संकलन भएको छ ।
फक्ताङलुङ गाउँपालिकामा चार हजार ६८६ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भएको राष्ट्रिय परिचयपत्र विवरण संकलन ताप्लेजुङका स्रोत व्यक्ति तथा जिल्ला प्रशासन कार्यालयका सीमा प्रशासन अधिकृत सूर्यप्रसाद दाहालले बताए । आठराइत्रिवेणी गाउँपालिकामा पाँच हजार २६५ जानको विवरण संकलन भएको छ । त्यस्तै मैवाखोला गाउँपालिकामा चार हजार २८२ र फुङ्लिङ नगरपालिकामा छ हजार ८९५ जनाको विवरण संकलन भएको दाहालले बताए ।
मेरिङदेन गाउँपालिकामा छवटा वडा भएकामा १, २ र ३ वडा गरी जम्मा तीन हजार ७७ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भएको छ । वडा नं ४, ५ र ६ मा विवरण संकलन हुन बाँकी रहेको कम्युटर अपरेटर वसन्त निरौलाले बताए । दिन प्रतिदिन कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि विवरण संकलन स्थगन गर्नुपरेको हो । कोभिड–१९ संक्रमण नियन्त्रणमा आएपछि अनुकूल समयमा बाँकी गाउँपालिकामा विवरण संकलन हुने निरौलाले बताए । पाथीभरा याङवरक, सिरिजङ्घा, मिक्वाखो र सिदिङ्वा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्न बाँकी रहेको छ ।
–––