बेलबारी। मोरङको रतुवामाई नगरपालिका वडा नं. ८  सिक्किमे टोलमा एकै परिवारका पाँच सन्तान शारीरिक अपाङ्ग छन् । 

तुलसीराम ढुङ्गानाका दुई श्रीमतीबाट ८ सन्तान भए । जेठी श्रीमतीको देहान्तपछि आफनै साली सृजनालाई उनले विवाह गरेका थिए । उनका तीन सन्तानले विवाह गरिसकेका छन् भने ५ जनाको अवस्था दयनीय छ । 

तीन छोरी र दुई छोरा सुस्त मनस्थितिका छन् । ४३ वर्षकी निर्मला, ४१ का निर्मल, ३० का उमेश, २९ की पार्वता र २७ की गोमा सुस्त मनस्थितिका छन् । ५ जना छोराछोरीको पालन–पोषण गर्दै आएका तुलसीरामको समेत निधन भइसकेको छ ।

ढुङ्गानाको गत जेठमा निधन भएको हो । पाँचै सन्तानलाई हेर्न, उनीहरूको माग र आवश्यकता बुझेर सन्तुष्ट पारिदिन हम्मे परेको छ । हातखुट्टा राम्रोसँग चलाउन नसक्ने, बोल्न र सोच्न नसक्ने सन्तान भएपछि सृजनालाई छोराछोरीको पालन–पोषण गर्न नै समस्या हुने गरेको छ । 

५ सन्तानको हेरचाहमा सृजनाको दिन बित्ने गरेको छ । ढुङ्गाना परिवारको आम्दानीको स्रोत एक बिघा जमिन मात्र हो । छोराछोरी अपाङ्ग भएपछि सघाउने नहुँदा उनले भएको खेत अधियाँ लगाएकी छन् ।

अधियाँबाट आएको धानले वर्षभरि परिवारलाई खान पुग्दैन, किनेर खानुपर्ने अवस्था छ । आम्दानीको अन्य स्रोत नभएपछि भएकै जग्गा बेच्नु पर्ने बाध्यता उनीहरूमा आइपरेको छ । 

खुवाउनेदेखि दिसापिसाब समेत अरूको सहाराले गराउनुपर्ने हुन्छ । उनीहरूले आफै निश्चित ठाउँमा केही गर्दैनन् । दिनभरि उनीहरूको गोठालो लाग्नुपर्छ ।

छोराछोरीले जे भेट्यो त्यही खाने, मानिसले खाने र जनावरले खाने वस्तु नचिन्ने, घरका सामान तोडफोड गरिदिने र जहाँ पायो त्यहीँ बस्ने गर्नुका साथै दिसापिसाब गरेको पनि थाहा पाउँदैनन् । उनीहरूको बोलीसमेत प्रष्ट छैन । 

सरकारद्वारा सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । त्यसले सृजनालाई केही सहज बनाएको छ । उनीहरूलाई दैनिक बिस्कुट, भुजिया र चाउचाउ दिनु पर्छ । एकछिन खान नपाए उनीहरू कराउने गर्छन् ।

रतुवामाई–८ कै कमलादेवी गुरागाईं र डिल्ली गुरागाईंले ढुङ्गाना परिवारका लागि एउटा घर बनाइदिएका छन् । बरण्डासहित तीनकोठे जस्ताको छाना लगाएर घर बनाइदिएका हुन् ।

काठको घरमा जोखिमपूर्ण तरिकाले बसेको देखेपछि गुरागाईं परिवारले केही वर्षअघि घर बनाइदिएको हो । त्यस्तै घर वरिपरि फलामको बेरा रतुवामाई नगरपालिकाले बनाइदिएको छ ।