कोभिड–१९ महामारी नियन्त्रण गर्नका लागि  सामाजिक संघसंस्थाले मिलेर  काम गर्नुपर्नेमा जोड दिएका छन् । 

मानव अधिकार पत्रकार संघले ‘महामारीमा सामाजिक संघसंस्थाको भूमिका’ विषयक अन्तरक्रियामा सरोकार पक्षले महामारीका बेलामा सामाजिक संस्थाले वैैकल्पिक सरकारका रुपमा काम गर्नुपर्ने जनायो ।

सो अवसरमा समाजकल्याण परिषद्का उपाध्यक्ष डा पदमप्रसाद खतिवडाले सातै प्रदेशमा गैरसरकारी संस्थासँगको परामर्शमा नीतिगतरुपमा कोभिड–१९ महामारी नियन्त्रणमा सहयोग गर्न संघसंस्थालाई २० प्रतिशतसम्म रकमान्तर गर्न अनुमति दिइएको बताए । 

राष्ट्रिय मानव अधिकार आयोगका निमित्त सचिव डा टीकाराम पोखरेलले महामारीमा अक्सिजन र औषधि नपाएर धेरै संक्रमित मर्नु परिरहेकाले तीनै सरकारले यसबारेका ध्यान दिनुपर्नेमा जोड दिए । 

गैरसरकारी संस्था महासंघका अध्यक्ष जीताराम लामाले संस्थाले  कोरोनाविरुद्ध ७७ जिल्लामा जिल्लास्तरको केन्द्रीय संरचना बनाएर काम गरिरहेको बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यस अवस्थामा सबैले आफू बाँचेर अरुलाई बचाउनका लागि लाग्नुपर्नेमा जोड दिए ।

समाजकल्याण परिषद्का सदस्य सचिव पुष्कर खातीले प्राथमकिताका आधारमा एकल महिला, बालबालिका र  ज्येष्ठ नागरिकलाई प्रत्यक्ष सहयोग गर्न सकिने गरी परिषद्ले नीतिगत निर्णय गरेको जानकारी दिए । हुर्जाका अध्यक्ष घनश्याम खड्काले महामारीबाट बाँच्न र बचाउनका लागि सबै सामाजिक संस्था एकजुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा सातै प्रदेशका सामाजिक संघसस्थाका प्रतिनिधि र पत्रकारको उपस्थिति  थियो । कोभिड –१९ नियन्त्रण तथा रोकथामका लागि सबैले मिलेर काम गर्नुपर्ने  र  आआफ्ना ठाउँबाट गर्न सकिने कामबाट शुरु गर्नुपर्ने सुझाव राखेका थिए ।