भद्रपुर/ कोरोना सङ्क्रमितको शव बस्तीनजिकै व्यवस्थापन गर्न लागिएको भन्दै स्थानीयले अवरोध गरेका छन् ।

कचनकवल गाउँपालिका–५ स्थित पाठामारीवासीले सङ्क्रमितको शव बोकेको एम्बुलेन्स बाटैमा रोकेर अवरोध गरेका हुन् । गाउँघरमा सङ्क्रमण फैलिने भन्दै स्थानीयवासीले अवरोध गरेपछि एम्बुलेन्सलाई सुरक्षाकर्मीले अन्यत्र लगेका थिए ।

अवरोधका कारण शव बोकेको एम्बुलेन्स पाँच घण्टासम्म सडकमै रोकिएको थियो । उनीहरूले सडकमै ढुङ्गा राखेर अवरोध गरेका थिए । घटना विवरणअनुसार कचनकवल गाउँपालिका–७ स्थित बालुवाडी निवासी अन्दाजी ६० वर्षीय सङ्क्रमित पुरुषको मेची कोभिड उपचार केन्द्रमा बुधबार मृत्यु भएको थियो ।

वैशाख २३ गते सङ्क्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । मङ्गलबार राति श्वास–प्रश्वास समस्या आएपछि गाउँपालिकाकै एम्बुलेन्सबाट उपचारका लागि मेची अस्पताल गएका थिए ।

उनको त्यहाँ केही घण्टाभित्रै मृत्यु भएपछि नेपाली सेनाको शव व्यवस्थापन टोलीले एम्बुलेन्समार्फत्  शव कचनकवल–५ स्थित पाठामारीको मेची नदी घाटमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए ।

मेची नदी घाटमा जेसिभीले खाल्डो खनेलगत्तै विरोधमा उत्रिएका स्थानीयवासीले एम्बुलेन्स पुगेपछि झन् चर्को विरोध गरेका थिए । 

नदी किनारमा शव व्यवस्थापन गर्न नदिने भन्दै आएका स्थानीयले पछि सङ्क्रमितको शव बोकेको एम्बुलेन्स पनि गाउँको बाटोबाट हिँड्न नदिने भएपछि घटनास्थल घण्टौं तनावग्रस्त बनेको थियो ।

त्यसपछि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो । गाउँपालिकाका अध्यक्ष अञ्जरा आलम, जनप्रतिनिधिसहित प्रहरी टोलीका इञ्चार्जले समेत सम्झाउँदा पनि गाउँलेहरू नमानेपछि समस्या झन् बल्झिँदै गएको स्थानीय रत्नकुमार बुढाथोकीले जानकारी दिए । स्थानीयको अवरोधपछि नेपाली सेनाको शव व्यवस्थापन टोली एम्बुलेन्समै घण्टौं बस्नुपरेको थियो ।

त्यसपछि सुरक्षाकर्मीले बल प्रयोग गरेर एम्बुलेन्स मृतक व्यक्तिकै घरतर्फ लगेका थिए । सङ्क्रमित व्यक्तिको शव उनकै घर आँगनमा दाहसंस्कार गरिएको स्वास्थ्य शाखा प्रमुख यादवले बताए ।

गाउँपालिकाले पूर्वमा मेची नदी र पश्चिममा बिरिङ खोला किनारमा सङ्क्रमितको शव व्यवस्थापन गर्ने भनी निर्णय गरिसकेको छ । ‘सोही निर्णय बमोजिम नै शव मेची नदी घाटमा लगिए पनि स्थानीयको विरोध आयो’–उनले भने ।