झापा । अक्सिजन अभावको कारण बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले एकका लागि एक अभियानले झापामा अक्सिजन वैक स्थापना गर्ने भएको छ । 

अक्सिजन अभावकै कारण धेरै कोरोना भाइरस बिरामीको मृत्यु भइरहेको वेला झापामा अक्सिजन बैंक सञ्चालन हुने भएको छ । 

‘कोरोना भाइरस महामारीमा जीवन रक्षाका लागि हाम्रो दोस्रो प्रयास’ भन्ने मुल नाराका साथ अभियानले चीनबाट ।  ४८ लिटर क्षमता रहेका सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको सामाजिक अभियन्ता तथा अभियानका संयोजक महेन्द्र गिरीले बताए ।

अक्सिजन तथा भेन्टिलेटरको अभावमा देशका विभिन्न स्थान तथा अन्य मुलुकबाट समेत कोरोना संक्रमित विरामी झापा ल्याउन थालिएपछि झापामा अक्सिजन अभाव हुन नदिन अक्सिजन वैंक स्थापना गर्न लागिएको संयोजक गिरीले जानकारी दिए । अभियानले एक्सरे मेसिन पनि सञ्चालनमा ल्याउन लागेको बताइएको छ ।

कोरोना महामारीको अवस्था अझ जटिल बन्दै गए आगामी दिनमा अक्सिजन प्लान्ट नै स्थापना गर्ने योजना रहेको संयोजक गिरीले बताए । ४ सय वटा सिलिन्डरबाट शुरु गरिने अक्सिजन वैंकलाई आवश्यकता अनुसार थप गर्दै लगिने उनको भनाई छ । ६० लाख रुपैयाँको लागतमा अक्सिजन बैंक स्थापना गर्न लागिएको उनले बताए ।

 अभियानसँग हाल २० लाख रुपैयाँ बचत रहेको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ४०० थान सिलिन्डरका लागि लगभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ । त्यसका लागि सहारा नेपालको टिमले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । अभियानले अपुग ३० लाख रुपैयाँका लागि एक व्यक्ति एक सिलिन्डर अभियान सुरु गर्ने भएको छ । त्यसका लागि सहारा नेपाल साकोसमा रहेको अभियानको खातामा एक सिलेण्डर वरावर १५ हजार रुपैयाँ जम्मा गर्न सकिने व्यवस्था समेत मिलाएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय झापाली समाज, वित्तीय संघसंस्था तथा सहकारी संघलाई पनि अभियानमा जोडिने बस्नेतले बताए । 

छिट्टै अक्सिजन बैंक सञ्चालन गर्ने अभियानले उपलब्ध भएका सिलिन्डर सञ्चालन खर्च कटाएर आइसोलेसनमा रहेका बिरामी तथा अस्पताललाई दिने संयोजक गिरीले बताए । पहिलो कोरोना महामारीमा विपन्नलाई खाद्यन्न तथा खाना उपलब्ध गराएको अभियानले एक करोडभन्दा बढी खर्चमा पिसिआर ल्याब स्थापना गरेको थियो ।  झापामा कोरोना संक्रमित मृत्युदर  दैनिक  बढिरहेको छ ।