जिल्ला सदरमुकाम धनकुटा बजारमा सञ्चालनमा रहेको खानेपानी वर्षायाम लागेसँगै उपभोक्ताले खानै नहुने गरी धमिलो आउने समस्याको दीर्घकालीन समाधानका लागि धनकुटा नगरपालिकाले विकल्पको खोजी गरेको छ ।
वि.सं.०७२ सालमा विश्व वैंकको २८ करोड लगानीमा निर्माण कार्य सम्पन्न साना सहरी खानेपानी आयोजनाले धनकुटा बजारमा सञ्चालनमा ल्याएको खानेपानी आयोजनाको पानी सञ्चालनमा छ । तर हरेक वर्ष वर्षायाम लागेसँगै उपभोक्ताले बाध्य भएर खानुपर्ने धमिलो पानीलाई सदाको लागि अन्त्य गर्न धनकुटा नगरपालिकाले नयाँ विकल्पको खोजी गर्ने क्रममा सल्लेरी वनमा डिप बोरिङ सञ्चालन गर्ने तयारीमा पुगेको हो । धनकुटा नगरपालिकाको १ करोड लगानीमा खानेपानी उपभोक्ता समिति धनकुटा मार्फत् सञ्चालन हुने २ वटा डिप बोरिङ शुद्ध खानेपानीको लागि सञ्चालनमा ल्याउन लागेको हो ।
डिप बोरिङ सञ्चालनमा आएसँगै धनकुटा बजारका उपभोक्ताले वर्षायाम लागेसँगै धमिलो र फोहोर पानी खानुपर्ने बाध्यताको सदाको लागि अन्त्य हुने निश्चित छ । त्यसका साथै खानेपानी उपभोक्ता समितिको कार्यालयले धमिलो पानीको विषयमा उपभोक्ताको आलोचना खेप्नु पर्ने परिस्थितिको पनि अन्त्य हुनेछ ।
वर्षायाम लागेपछि धनकुटा बजारका उपभोक्ताहरुले शुद्ध पिउने पानी नआएको झोंकमा उपभोक्ता समितिको कार्यालय घेराउ, फोहोर पानी बोतलमा भरेर विरोध जुलुस र सामाजिक सञ्जालमा गाली गलौज खेप्नु पर्ने हुन्थ्यो । तर अब नगरपालिकाको लगानीमा २ वटा डिपबोरिङ सञ्चालनमा आएसँगै सदाको लागि धमिलो पानी पिउनु पर्ने उपभोक्ताको बाध्यता सदाका लागि अन्त्य हुनेछ ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले भने– ‘आफू नगरपालिकामा स्थानीय सरकारको प्रमुख भएर आएको ३ वर्ष पूरा भएर ४ वर्ष लागेको अवस्थामा हरेक वर्ष वर्षायाम लागेसंगै धनकुटा बजारवासीले शुद्ध खानेपानी पिउन नपाएको गुनासो आउने गरेको पाएँ ।’
खानेपानीको विषयलाई लिएर बजारवासी उपभोक्ताहरुले हरेक वर्ष वर्षायाम लागेसँगै खानेपानी उपभोक्ता समितिको कार्यालय घेराउ र नगरपालिकामा डेलिगेसनको ताँती आउने गरेकाले पनि खानेपानीको लागि तत्काल विकल्प खोज्नु परेको नगर प्रमुख तामाङले ब्लाष्टलाई बताए ।
उनले धनकुटा नगरपालिका वडा नं.६ स्थित सल्लेरी वनमा २ वटा डिपबोरिङ गाडेर तत्काललाई शुद्ध खानेपानी उपभोक्ता माझ २ हप्ताभित्र सञ्चालनमा ल्याउने बताए । सल्लेरी वन धनकुटा बजारको शिरमा पर्दछ । सल्लेरी वनस्थित आँखा अस्पताल भन्दा केही माथिको भागमा निकालिएको पानी धनकुटा–६ लहरेचौतारामा रहेको खानेपानी उपभोक्ता समितिले सञ्चालनमा ल्याएको ट्याङ्कीमा जम्मा गरेर तत्काल वितरण गर्न सकिनेछ ।
नगरवासीले शुद्ध खानेपानी खान पाऊन् भन्ने नगरपालिकाको चाहाना भएको बताउँदै नगर प्रमुख तामाङले भने– ‘धनकुटा बजार क्षेत्रमा खानेपानीको दीर्घकालीन समाधानका लागि २ वटा डिपबोरिङ तत्काल सञ्चालन गरिनेछ ।’
हाल सञ्चालनमा ल्याइएका साना सहरी खानेपानी आयोजनाको निवुवा दोभानदेखि लिफ्ट सिस्टमबाट धनकुटा ल्याइएको पानी महँगो पर्ने र पम्प पनि बिग्रिने समस्याले गर्दा सञ्चालनमा ठूलो चुनौती सिर्जना हुने गरेको छ । खानेपानी उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङले भने– ‘धनकुटा बजारको वडा नं.५,६ र ७ नम्वर वडावासीका लागि २ वटा र वडा नं.८ का लागि २ वटा डिप बोरिङ छुट्टाछुट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’
छाराहाङले धनकुटा बजारमा ३ हजार ५ सय खानेपानीका उपभोक्ताहरु रहेको बताए । खानेपानीका लागि उपभोक्ताको दैनिक माग प्रति सेकेण्ड ३५ लिटर रहेकोमा २५ लिटर मात्र आपूर्ति भइरहेको छाराहाङले भने । उनले निवुवा दोभानबाट लिफ्ट सिस्टमबाट प्रति सेकेण्ड ८ लिटर र ग्राभिटीबाट १७ लिटर गरी २५ लिटर खानेपानी आपूर्ति भइरहेको स्पष्ट पारे । वर्षायाम लागेपछि प्रति सेकेण्ड आपूर्ति हुने २५ लिटर खानेपानी पूर्ण रुपमा धमिलो आउने गरेकाले उपभोक्ताको गुनासो बढ्नु स्वभाविक भएको छाराहाङको भनाइ छ ।
उपभोक्ता समितिका उपाध्यक्ष नगेन्द्र पोख्रेलले बजार क्षेत्रमा दैनिक १० लाख लिटर खानेपानीको चुहावट हुने गरेको बताए । डिपबोरिङ गर्न चितवनस्थित् एसएस वाटर ट्युबवेल कन्ट्रक्सन सर्भिस प्रालिका प्रतिनिधि प्रशान्त कार्कीले १ सय मिटर गहिराईबाट खानेपानी शुद्ध निकाल्न सफल भएको बताए ।
उनले एउटा डिपबोरिङका लागि ४० देखि ५० लाखसम्म खर्च लाग्ने बताए । धनकुटा–६ स्थित सल्लेरीमा हालै निकालिएको डिपबोरिङबाट प्रति सेकेण्ड ६ लिटर भन्दा वढी खानेपानी आउने कम्पनीका प्रतिनिधि कार्कीले ब्लाष्टलाई बताए ।