युवा संघ नेपाल प्रदेश नं. १ ले स्थापना दिवसको अवसर पारेर कोभिड १९ को विश्व महामारीलाई मध्यनजर गर्दै पूर्व तयारीमा जुट्न आग्रह गरेको छ ।

महामारीबाट गरिबी, अशक्त, असहाय, मजदुरी गरी जीविकोपार्जन गर्ने तथा कोरोना संक्रमित व्यक्तिलाई आइपर्ने अक्सिजन तथा खाद्य सामग्रीको अभावलाई सहज बनाउन सबै एकजुट हुनु पर्नेमा जोड दिएको हो । 

कोरोना अवस्थामा हुने कालोबजारी, मूल्यवृद्धि, भष्ट्राचार जस्ता जघन्य अपराधिक क्रियाकलाप हुन नदिन सबैलाई संघका प्रदेश नं. १ अध्यक्ष प्रत्युस रानाले विशेष सर्कुलर जारी गर्दै आग्रह गरेका हुन् ।  

कोरोना दोस्रो लहर कायम नै रहेकाले संघले अनुकूलताका आधारमा जेठ १ गते स्थापना दिवस मनाउन १४ वटैै जिल्ला र नगर कमिटिलाई आग्रह गरेको छ । महामारीलाई  मध्यनजर गर्दै संघले देशभर १० हजार युवा परिचालन गर्ने केन्द्रको निर्देशन रहेको जनाएको छ । त्यसै अनुसार प्रत्येक जिल्ला अनुकूलताको आधारमा परिचालन कमिटी गठन गरी स्थानीय तहसम्म पनि सोही कार्य सम्पादन तथा संगठनलाई चलायमान बनाउनका लागि प्रदेश समितिले  विभिन्न विभागीय जिम्मेवारी समेत तोकेको छ । 

१४ वटै जिल्ला र पालिकामा आवद्धले आ–आफ्नो क्षेत्रमा रक्तदान गर्न सक्ने व्यक्तिहरुको नामावली संकलन गरी विपद्को अवस्थामा तयारी रहन अपिल गरेको हो । 

संघका सबै जिल्ला र आफूअन्तर्गतका पालिकामा आबद्ध कमिटीका सदस्यहरुले नेपाल सरकारले तोकेका स्वास्थ्यका मापदण्ड पालना गर्दै स्थापना दिवस मनाउन आग्रह समेत गरेको छ ।