भद्रपुर। जीर्ण भएको भवनको छत खसेर एक कार्यालय सहयोगी घाइते भएकी छन् ।
दक्षिणी झापाको कचनकवल गाउँपालिका ६ नम्बर वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी कमला गौतम घाइते भएकी हुन् ।
बाहिर बसेकी कार्यालय सहयोगी गौतमलाइ सोमबार छतको पर्दा झर्दा उनको टाउकोमा गम्भीर चोट लागेको ६ नम्बर वडा अध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिए ।
घटनापछि उपचार गराएर घरमा नै आराम गर्न राखिएको कार्कीले बताए । साबिक बनियानी गाउँ विकास समितिको कार्यालय समेत रहेको सो वडा कार्यालयको भवन २०५२ सालमा बनेको बताइएको छ ।
बर्खामा छतबाट पानी रसाउने भवन पुरै जीर्ण बनिसकेको वडा अध्यक्ष कार्कीको भनाई छ । जनप्रतिनिधि र कर्मचारी जीर्ण कार्यालय भवनमा काम गर्न बाध्य बनेको उनले गुनासो गरे ।