धरान । कोरोना महामारीका बेला पनि जनतालाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरूका लागि धरानका एक व्यवसायी तथा समाजसेवीले अक्सिजन सिलिन्डर उपलब्ध गराएका छन् ।
क्रसर व्यवसायी तथा समाजसेवी कर्ण श्रेष्ठले सुनसरीको इटहरीमा निर्मित आइसोलेसनका लागि दुईवटा ४७ केजी तौल भएका अक्सिजन सिलिन्डर उपलब्ध गराएका हुन् । उनी धरान–१ निवासी हुन् । उनले लामो समयदेखि धरानमा क्रसर व्यवसाय गर्दै आइरहेका छन् । तर, हाल उनको क्रसर बन्द अवस्थामा छ ।
व्यवसायी श्रेष्ठले अहिले जोकोही पनि कोरोनाबाट संक्रमित भइरहेको अवस्थामा अग्रपंक्तिमा खटिने पत्रकारहरू पनि त्यसबाट अछुतो नरहने भएकाले उनीहरूलाई लक्षित गरेर सिलिन्डर उपलब्ध गराएको बताए । ‘यो बेलामा जोसुकैलाई पनि अक्सिजनको आवश्यकता पर्छ, यस्तो बेलामा मसँग भएका सिलिन्डर त्यसै राख्नुभन्दा सहयोग गर्नु उचित सम्झे’ उनले भने ।
सुनसरीको इटहरीमा इटहरी उद्योग वाणिज्य संघ, प्रेस युनियन सुनसरी र युवा उद्यमी मञ्च सुनसरीको अगुवाइमा ४० बेड क्षमताको आइसोलेसन निर्माण गरिँदै छ । उक्त निर्मित आइसोलेसनमा पत्रकारलाई लक्षित गर्दै केही बेड दिइने प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले जानकारी दिए । पत्रकारहरूका लागि भनेर व्यवसायी श्रेष्ठले सिलिन्डर उपलब्ध गराएका हुन् ।
इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा अक्सिजनसहितको आइसोलेसन तयार गरिँदै छ । सोमबार सुनसरीका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले आइसोलेसनको अनुगमन गर्दै व्यवसायीहरूले गर्न खोजेको सत्कार्यप्रति धन्यवाद दिएका थिए । नेपालमा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस्तो अवस्थामा अस्पतालमा बेड अभाव हुने भएकाले सामान्य बिरामी जो होम आइसोलेसनमा बस्न सक्ने अवस्था हुँदैन त्यस्ताहरूलाई लक्षित गरी आइसोलेसन निर्माण गरिरहेको छन् । त्यहीअन्तर्गत इटहरीको पनि एक हो ।