विजयपुर / ‘परिवारलाई सुख दिउँला, आफू पनि सुखको जीवन बिताउँला भन्ने सपना थियो । तर,  रोग लागेपछि सबै सपना समाप्त भए ।’

दाजुभाइ तिलकबहादुर र डम्बरबहादुर  विश्वकर्माको साझा भावना हो यो । उनीहरू अहिले धरान–९ स्थित अपाङ्ग पुनःस्थापना तथा असहाय केन्द्रमा छन् । खोटाङ जिल्लाको छिनारेमा बुबा टेकबहादुर र आमा मनसुनाका माइला सन्तानका रूपमा तिलकबहादुर २०२० सालमा र कान्छा डम्बरबहादुर २०२९ सालतिर जन्मिएका थिए । उनीहरूको बाल्यकाल सुखद् नै थियो । राम्रोसँग काम गर्न सक्थे । तर, अहिले उनीहरूलाई हिँडडुल गर्न पनि सहारा चाहिन्छ । तिलक सम्झन्छन्, ‘गोठालो गथ्र्यौं, मेलापात जान्थ्यौँ । त्यतिबेलासम्म दाजुभाइ नै तन्दुरुस्त थियौं ।’

उमेर बढ्दै जाँदा उनीहरूको जीवनमा स्वास्थ्य समस्या पनि बढ्दै जान थाल्यो । तिलक १६ वर्ष र भाइ डम्बर १५ वर्ष भएपछि उनीहरू हिँडडुल गर्नै नसक्ने भए । उनीहरूलाई बाहिरभित्र गर्न अरूको सहारा चाहिन थाल्यो । 

उनीहरूको गर्धनको नसामा समस्या छ । तिलक आफै खानासमेत आफै खान सक्दैनन् । अरूले नै खुवाइदिनुपर्छ । डम्बरको पनि खुट्टा चल्दैनन् तर ह्विल चियर भने चलाउन सक्छन् । डम्बरलाई भने अर्काले खाना खुवाउनु पर्दैन । डम्बर भन्छन्, ‘म त दुःख–सुख खान्छु, दाइलाई त खुवाउनु पर्छ ।’ 

उनीहरूका जेठा दाजु पहिले नै आफ्नो परिवार लिएर धरान आएका थिए । केही वर्षपछि बुबाको मृत्यु भयो, त्यसपछि उनले आमा र भाइहरूलाई पनि धरानै लिएर आए । २०५० सालमा भरियालाई डोकोमा बोकाएर उनीहरूलाई धरान झारियो । उनीहरू २०६२÷६३ सालसम्म धरान–८ स्थित अरूण टोलमा बसे । उनीहरू धरान आए पनि आर्थिक अभावले उपचार गराउन सकेनन् । अहिलेसम्म पनि आफूहरूको उपचार नगरेको दाजुभाइले नै बताए ।

तर, पुनःस्थापना तथा असहाय सेवा केन्द्रका सञ्चालक सुनिल खड्का भने उपचारमा लगे पनि डाक्टरले उपचार नहुने बताएको दाबी गर्छन् । उनीहरू विगत १२ वर्षभन्दा अगाडिदेखि सो केन्द्रमा बस्दै आएका छन् । अहिले केन्द्रमा दाजुभाइ मात्र छन् । उनीहरूले बिहानको एकछाक मात्र खाना खान्छन् । ‘आफूले नसकेपछि कसले दिने ?’–उनीहरू भन्छन् । उनीहरूलाई केन्द्रले खाद्यान्न त दिन्छ तर, उनीहरू पकाएर खान सक्दैनन् । अरूण टोलकी सीता विश्वकर्माले उनीहरूलाई नियमित बिहानको खाना पकाएर खुवाउने गरेकी छन् । उनीहरू बिहान खाना खान्छन् भने बेलुका बिस्कुट र पानीको भरमा सुत्छन् । 

उनीहरूलाई राखिएको केन्द्रमा खानेपानी र बिजुली बत्तीको समस्या छ । डम्बरले अरू कुरा ठीकै भए पनि सरकारी धारामा पानी लिन जाँदा साह्रै समस्या हुने बताए । ‘पुग्नै समय लाग्छ, पुगेर पनि लाइन लाग्नुपर्छ’ –उनले भने । डम्बरले केन्द्रमा सोलारबत्ती भए पनि मजाले नबल्ने भएकाले अँध्यारोमा बस्नुपर्ने बाध्यता रहेको सुनाए । पुनस्र्थापना तथा असहाय सेवा केन्द्र नजिकै निर्माणाधीन घरमा चौकीदारको काम गर्ने मानबहादुर मगर पनि खानेपानीको साह्रै समस्या रहेको बताउँछन् । उनले भने, ‘विचरा बोतल बोकेर जान्छन्, वरिपरि छरिन्छ, कहिलेकाहीँ त सम्हाल्दिन्छु, सधैँ भ्याइँदैन ।’ 

उनले यस्ता मान्छेले ल्याएर शौचालयमा राखेको पानी पनि बाहिरबाट मान्छे आएर प्रयोग गरिदिने गरेको बताए । 

उनीहरूका जेठा दाजुका १ छोरा र १ छोरीको पनि अवस्था उस्तै छ । जेठा दाइको कान्छा छोरा टेकबहादुर र छोरी गङ्गा विश्वकर्मा पनि यस्तै समस्याले ग्रसित छन् । उनीहरूलाई अहिले दाजुभाउजूले हेर्दै आएका छन् । देवर टेकबहादुरलाई १२ वर्षको उमेरदेखि समस्या आएको भाउजू अनिताले बताइन् । उनी २०४८ सालमा जन्मिएका हुन् । टेकबहादुरको शरीरका कुनै पनि अङ्ग स्थिर नरहने समस्या छ । उनको शरीर कम्पन भइरहन्छ । उनी पनि केही काम गर्न सक्दैनन् ।

उनलाई खाना पनि अर्कैले खुवाइदिनु पर्छ । गङ्गा त झन् धेरै वर्षसम्म शारीरिक रूपमा तन्दुरुस्त थिइन् । गङ्गाको विवाहसमेत भएको थियो । विवाह हुँदासम्म ठीकै थियो । विवाहपश्चात् उनका १ छोरा र १ छोरीसमेत भए । विवाह भएको केही समयपछि भने उनलाई रोगले समात्यो । रोग लागेपछि उनलाई आफ्ना श्रीमान्ले चरम यातना दिएको उनकी भाउजू अनिता बताउँछिन् । उनका अनुसार गङ्गाका श्रीमान्ले २ पटक हातखुट्टा नै भाँचिदिएका थिए । अनिताले भनिन्, ‘एकपटक हात र एक पटक खुट्टा भाँचिदिए, ल्याएर उपचार गराएँ । ठीक भएपछि हामीले नजानू भन्दाभन्दै श्रीमान्ले बोलाएपछि फेरि नन्द गइन् ।’

उनका श्रीमान्ले गङ्गालाई विषसमेत खुवाएको परिवारको दाबी छ । अनिताले भनिन्, ‘हतार–हतार अस्पताल लगेर बचायौं, पछि ज्वाइँलाई खोज्दा उनी भागिसकेछन् । अहिलेसम्म भेटिएको छैन ।’ अनितालाई पनि केही वर्षअगाडि सर्पले टोक्यो । त्यसपछि उनी पनि अशक्तजस्तै छिन् । उनले आँखा राम्रोसँग देख्दिनन् । उनले आफू केही भईहाले नन्द र देवरको बिजोक हुन्छ भन्ने चिन्ता लाग्ने गरेको बताइन् ।  उनी भन्छिन्, ‘देवर र नन्दलाई हातखुट्टा लाग्ने बनाइदिन पाए गरिखान्थे भनेर इण्डियासम्म उपचार गर्न लागियो तर, डाक्टरले वंशाणुगत रोग भएकाले उपचार सम्भव नहुने भनेपछि फर्कायौं ।’

विश्वकर्मा दाजुभाइको घर बन्दै

लामो समयदेखि अपाङ्ग पुनस्र्थापना तथा असहाय केन्द्रमा बस्दै आएका दाजुभाइ तिलकबहादुर र डम्बरबहादुर विश्वकर्माका लागि घर निर्माण भइरहेको छ ।

धरान–८ स्थित अरुण टोलमा घर निर्माण भइरहेको छ । पहिलेको घर जीर्ण बन्दै गएपछि घर निर्माण सुरु गरिएको हो । अरुण टोल विकास समितिको पहलमा ३ कोठे घर निर्माण भइरहेको छ । टोल विकास समितिकी अध्यक्ष सीता राईको नेतृत्वमा  घर निर्माण कार्य भइरहेको छ । ३ कोठाको घर निर्माण गरिने अध्यक्ष राईले जानकारी दिइन् । उनले ४ लाख ५० हजार लागतमा घर निर्माण गर्न लागेको जानकारी दिइन् । घरको भूईं ढलाइ गरी टिनको घेराबाराको घर निर्माण गर्दै गरेको उनले बताइन् । 

दाजुभाइको परिवारको पनि आर्थिक अवस्था कमजोर भएकाले टोल विकास समितिले नै घर निर्माण गरिदिएको हो । घरमा अपाङ्ग पुनःस्थापना तथा असहाय सेवा केन्द्रको पनि सहयोग रहेको छ । केन्द्रका प्रबन्ध निर्देशक सुनिल खड्काले ४ लाख ३८ हजार रुपैयाँ रकम सङ्कलन भइसकेको जानकारी दिए । उनले घर सम्पन्न भएपछि दाजुभाइलाई घरमा नै राखिने बताए । उनीहरूको संस्थाले स्थानीय दाताहरूबाट रकम सङ्कलन गरेको बताए ।

तर, विश्वकर्मा दाजुभाइ भने लामो समय केन्द्रमा बसेको र वरपरका सबैसँग चिनजान भएकाले केन्द्रमा नै बस्न पाए राम्रो हुने बताउँछन् । अध्यक्ष सीताले भनिन्, ‘वर्षा हुन नथाली सम्पन्न गरेर घरमा प्रवेश गराउने इच्छा थियो,  त्यसरी नै तयारी गरेका थियौँ, तर छिमेकीसँगको सिमानाको विवाद हुँदा केही ढिलो भयो ।’ पानी पर्न थाले पनि हप्तादिन भित्रमा सम्पन्न गरेर परिवारका सदस्यलाई प्रवेश गराउने उनको भनाइ छ । उनीहरूलाई घरमा प्रवेश गराउन पाए आफूलाई सन्तुष्टि मिल्ने उनले बताइन् । ३ कोठे घर, पक्की शौचालय र स्नानघर निर्माण हुनेछ । 

घरमा कमसल सामान प्रयोग

विश्वकर्मा दाजुभाइको निर्माणाधीन घरमा स्टिमेट गरेभन्दा कमसल खालको सामान खरिद गरी लगाएको पाइएको छ ।

विश्वकर्माको घर निर्माण गर्ने योजना टोल विकास समितिले गरेको थियो । तर, घरका लागि आवश्यक सम्पूर्ण सामान केन्द्रका निर्देशक सुनिल खड्काले आफै खरिद गर्दै आएका छन् । उनले एक्लै खरिद गर्दा योजनामा भएभन्दा कम गुणस्तरको सामान ल्याएको निर्माण समितिले बताएको छ । घर निर्माण गरिरहेका कामदारहरूले पनि काम नै नलाग्ने टिन खरिद गरेको बताएका छन् । तर, केन्द्रका निर्देशक खड्काले भने गुणस्तरीय सामान नै प्रयोग गरेको दाबी गरे । उनले गुणस्तरीय सामान महँगो पर्ने र खरिद गर्न नसक्ने बताए । 

house