सिरहा । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. १ मा सञ्चालन हुनलागेको सौर्या सिमेण्ट उद्योगमा जग्गा दिँदाको सर्त  पालना गर्नुपर्ने लगायत विभिन्न ११ बुँदे मागसहित स्थानीय नागरिक र मजदुरहरू आन्दोलनमा उत्रिएका छन् । 
उद्योगको लागि आवश्यक पर्ने जग्गा दिँदा नै स्थानीयलाई उनीहरूको योग्यताअनुसार काम दिने सर्त कार्यान्वयन गर्नुपर्ने मागसहित उनीहरू उद्योग बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन् । आन्दोलित स्थनीयले स्थानीयलाई योग्यताका आधारमा रोजगारी, ढुवानीको लागि स्थानीय टिपर, ट्रकको प्रयोग, ऐलानी तथा वनक्षेत्रको जग्गा नाप नक्सा गरी प्रयोग गर्न र उद्योग वरिपरिको गाउँलाई प्रदूषण बापत प्रतिबोरा एक रुपैयाँ दिनुपर्ने मागसहित स्थानीय नागरिक र मजदुरहरूले ज्ञापन–पत्र बुझाएका छन् ।
ज्ञापन–पत्रमा नेपाल सरकारको श्रम ऐनअनुसार पारिश्रमिकको व्यवस्था गर्नुपर्ने, उद्योगको ध्वनि प्रदूषण नियन्त्रण, तेतरिया खोला र बेनावती खोलामा उद्योगको प्रदूषित पानी बगाउन बन्द गर्नुपर्ने, उद्योग निर्माणकालदेखि नै कार्यरत स्थानीय कामदारलाई नियमित कामको व्यवस्था गर्नुपर्ने लगायत माग गरेका छन् ।