धनकुटा। परम्परागत नर्सरी लगाउँदा सयौं बिरुवा मर्ने समस्याबाट पीडित धनकुटा–२ भीरगाउँका कृषक रमेश तामाङले सन्तोषको श्वास फेर्न थालेको धेरै भएको छैन ।

धनकुटा नगरपालिका, युएनडिपी, पर्डेप नेपालले ‘कोभिड १९ रेस्पोन्स तथा सोशियो इकोनोमिक रिकोभरी’ कार्यक्रमका कारण तामाङले बिरुवा उत्पादन गर्न सहज बनाइदिएको छ । तीनवटा संस्थाले ‘हाइटेक नर्सरी फार्मिङ’ को अवधारणाले धनकुटा–२ भीरगाउँका ५२ परिवारलाई बिरुवा उत्पादन सहज बनाइदिएको छ ।

यहाँ खुर्सानी, बन्दाकोपी, काउली, गोलभेंडा, करेलालगायतका १२ हजारभन्दा बढी बिरुवा उत्पादन गर्न थालिएको छ । तामाङ भन्छन्, ‘बाँस र प्लाष्टिकको बेरा बाँधेर नर्सरी तथा तरकारी बालीको ब्याड राख्ने झन्झट हटेको छ । परम्परागत नर्सरीमा १० ग्राम बिउको ब्याड राख्दा दुःखले ५ ग्राम उम्रिन्थ्यो ।’ हाइटेक नर्सरीमा बेमौसमी तरकारी बालीको बिरुवा उत्पादन गर्न पनि सहज भएको छ । 

यस कार्यक्रमका लागि १० लाख १३ हजार ९ सय १९ रुपैयाँ बजेट विनियोजन गरिएको थियो । कोरोनाका बेला कृषकहरू प्रभावित भएपछि उनीहरूको जीवनस्तर उकास्नका लागि यो कार्यक्रम ल्याइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ बताउँछन् । आइतबार धनकुटा नगरपालिकाले नर्सरीको अनुगमन पनि गरेको छ ।

नयाँ प्रविधिबाट कृषकहरू खुसी छन् । उत्पादन बढ्नेमा पनि कृषकहरू आशावादी रहेको कृषकसमेत रहेका २ नम्बर वडाध्यक्ष चन्द्रलाल तामाङ बताउँछन् । उनले भने, ‘हाइटेक नर्सरीमार्फत् बिरुवा उत्पादन गर्दा उत्पादन पनि बढ्छ, आम्दानी पनि बढ्छ ।’

नगरले गरेको अनुगमनको क्रममा नर्सरी कृषकका लागि लाभदायी नै भएको पाइएको नगरपालिका वातावरण शाखाका प्रमुख उपेन्द्र खनाल बताउँछन् । अनुगमनमा नगर प्रमुख तामाङसहित प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, योजना तथा अनुगमन शाखा प्रमुख सीताराम गौतम, पर्डेप नेपाल धनकुटाका कार्यक्रम संयोजक मीनप्रसाद सुवेदी रहेका थिए ।