सुनसरी जिल्ला समन्वय समितिले कोभिड संक्रमण तीव्र भइरहेको अवस्थामा संक्रमण हुनसक्ने सम्भावित क्षेत्र बन्द गर्ने वा नगर्ने निर्णय कार्यान्वयन गर्ने दायित्व स्थानीय तहलाई छाडेको छ ।
आइतबार जिल्ला समन्वय समिति सुनसरीका प्रमुखको अध्यक्षतामा जिल्लाका नगर तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख साथै विषयगत कार्यालयका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले कोभिडको प्रभाव पर्न सक्ने सम्भावना रहेका विद्यालय, साप्ताहिक हाट बजारसम्बन्धी निर्णय सुरक्षा निकायको सहयोगमा स्थानीय तहले गर्ने निर्णय गरेको छ ।
‘जिल्लामा पनि संक्रमण बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी सबै स्थानीय तहले स्वास्थ्यकर्मी लगायत स्वास्थ्य सामग्री तथा जनशक्तिसहितको क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरु समेत तयारी अवस्थामा राख्ने’ निर्णय गरिएको छ ।
जारी निर्णयमा ‘जिल्लाका विभिन्न स्थानमा लगाइने मेला, महोत्सव, सांस्कृति कार्यक्रम लगायतका अत्यधिक भिडभाड हुने खाल्को गतिविधि हुन हाललाई नदिने निर्णय गरियो ।’ भनिएको छ ।
१० बुँदे निर्णयमा सीमा क्षेत्रमा पेट्रोलियम पदार्थको चोरी निकासी नियन्त्रणका लागि नेपाल आयल निगम र सुरक्षा निकायहरुले ध्यान दिने निर्णय गर्दै स्थानीय वडा अध्यक्षको सिफारिलाई आधार लिई पेट्रोल पम्पले इन्धन बिक्री गर्ने र नेपाल आयल निगमले पेट्रोल पम्पहरुलाई तेल दिंदा स्थानीय पालिका र सुरक्षा निकायलाई जानकारी दिने उल्लेख गरिएको छ ।