मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ र ८ मा पर्ने मावा नुनसरी सामुदायिक वन क्षेत्रभित्र निर्माण भइरहेको टिकटक रोड नयाँ वर्षको अवसर पारेर उद्घाटन गरिने भएको छ ।  

वैशाख १ गते नयाँ वर्षको अवसर पारेर वृहत् सांस्कृतिक कार्यक्रमका साथ भव्य रुपमा टिकटक रोडको उद्घाटन गर्ने टिकटक रोड निर्माण व्यवस्थापन समितिका सचिव रुद्र भण्डारीले बताए । उद्घाटनका दिन बिहानी कला प्रशिक्षण केन्द्र र डेस्टिनेशन ब्याण्डले धमाकेदार सांस्कृतिक कोसेली प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।   

मधुमल्ला बजारको उत्तरतर्फ पर्ने मधुमल्ला– मावा तोरीबारी सडक खण्डको करिब २ किमी जंगल क्षेत्रमा टिकटक रोड निर्माण कार्य भइरहेको छ । पहिलो चरणमा मावा नुनसरी सामुदायिक वन उत्तर करिब १ किमी क्षेत्रमा स्थानीय तथा बाह्य पर्यटकहरुलाई मन लोभ्यान विभिन्न प्रकारका तुल ब्यानरहरु टाँगिएको छ । ढुङ्गाहरुमा कलात्मक रुपमा रङरोगन गरिएको छ । ठूला ढुङ्गाहरुमा केही कलात्मक चित्र र स्ट्याचु निर्माण गरिएका छन् । 

टिकटक रोड निमार्णमा स्थानीय युवा सुरेन्द्र थापाकोे अध्यक्षतामा २० जना युवाहरुले समूह बनाएर काम गरिरहेका छन । युवाहरु रातदिन पिङ निर्माण, फलैंचा निर्माण र रङरोगनका काममा निरन्तर २०–२५ दिन अघिदेखि लागि परेका छन् । 

टिकटक रोड निर्माणले मधुमल्ला, मिक्लाजुुङको प्रचार–प्रसार साथै यस क्षेत्रको विकासमा समेत सहयोग पुग्ने विश्वास लिएको मावानुनसरी सामुदायिक वनका अध्यक्ष जगत बस्नेतले बताए ।