तेह्रथुमको म्याङलुङ नगरपालिका ३ नागदह बस्ने ७२ वर्षीया फूलमाया ढुंगानाको आगोले जलेर मृत्यु भएको छ ।
घरदेखि नजिकै रहेको आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा आज बिहान साढे ९ बजे आगो सल्किएको प्रहरीले जनाएको छ । नजिकै रहेको बासझ्याङमा लागेको आगो वृद्धाको शरीरमा सल्किएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
बासझ्याङमा आगो सल्किएको थाहा पाएपछि स्थानीय किशोरप्रसाद सिग्देल र फूलमायाकी जेठी बुहारी आएर निभाउने क्रममा फूलमायालाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
बासझ्याङमा खोल्सी परेको स्थानमा फुलमायाको शरीरको कपडा पूर्णरुपमा जलिसकेको र उनलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।