प्रदेश १ सभाको बैठक आज बस्दैछ । हिउँदै अधिवेशन अन्तर्गत आज सातौं प्रदेश सभा बैठक बस्न लागेको हो ।
प्रदेश सभा बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
हिजो आइतबार विपक्षी दलको अवरोध खुलाउनेबारे प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बैठक आयोजना गरेका थिए ।
बैठकमा एमाले संसदीय दलका नेता समेत रहेको मुख्यमन्त्री शेरधन राई अनुपस्थित भए । मुख्यमन्त्रीको अनुपस्थितिमा मुख्य विषयमा प्रवेश नै नगरी बैठक सकिएको थियो ।
प्रदेश सरकारको पहलकदमी नभएपछि सभामुखले आफैं बैठक डाकेका थिए ।
नेकपा एमालेका सचेतक, दलका उपनेता कसैको पनि उपस्थिति रहेन । तर, मुख्यमन्त्रीका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको उपस्थिति थियो । मन्त्री कार्कीले विपक्षी दलका नेताको गुनासोबारे मुख्यमन्त्री सकारात्मक रहेको जानकारी गराएका थिए । मुख्यमन्त्रीले विपक्षी दललाई सदनमा सम्बोधन गर्ने बताएका थिए ।
एमाले दलका पदाधिकारी, सचेतक, उपनेताको समेत उपस्थिति नभए पनि एमाले पार्टीका तर्फबाट लिलम बस्नेतको उपस्थिति थियो ।
चालु आर्थिक वर्षका स्वीकृत कार्यक्रम सञ्चालन गर्न र वहुवर्षे विकास आयोजनालाई निरन्तरता दिन विपक्षीले माग गर्दै आएका छन् । बजेट अभावको कारण देखाएर आयोजना रोकिएको विपक्षीको आरोप छ ।
सदन लगातार दुई दिन अवरुद्ध भइसकेको छ । आज चैत ३० गते दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।