विजयपुर । धरान खानेपानी व्यवस्थापन बोर्डले पर्याप्त पानी वितरण गर्न नसक्दा धरानका प्रायः वडाहरूमा खानेपानीको चरम अभाव भएको छ । नेपाल खानेपानी संस्थानले वितरण गर्दाको समयभन्दा अहिले पानीको समस्या बढी देखिएको छ ।

विगतका वर्षहरूमा पनि चैत–वैशाखको समयमा खानेपानीको अभाव भए पनि यो वर्ष चरम अभाव भएको उपभोक्ताहरू बताउँछन् । खानेपानी संस्थानलाई व्यवस्थापन बोर्डमा गाभेपछि खानेपानीको मात्रा वृद्धि भएर आपूर्ति सहज हुनुपर्ने हो । तर, अहिले पानीको झनै अभाव भएको छ ।

संस्थानले वितरण गर्दा दिन बिराएर औषतमा ३ घण्टा पानी वितरण गर्ने गरेको थियो । संस्थानलाई बोर्डमा ‘मर्ज’ गरेपछि भने २ दिनमा पनि पानी वितरण गर्न सकिरहेको छैन । संस्थानलाई बोर्डमा ‘मर्ज’ गरेपछि भने धरानका सर्वसाधारणले खानेपानीको झन् अभाव भइरहेको धरानका उपभोक्ताको गुनासो छ । खानेपानी समस्या विकराल भएपछि धरान खानेपानी व्यवस्थापन बोर्डप्रति उपभोक्ताहरू आक्रोसित हुँदै आएका छन् । 

धरान–७ का रोजेश राईले खानेपानी संस्थानलाई ‘मर्ज’ नगर्दा सामान्य अभाव हुने भए पनि यो वर्षको जस्तो अभाव नभएको बताए । उनले संस्थानलाई बोर्डमा ‘मर्ज’ गरेपछि खानेपानी आपूर्ति सहज हुनुपर्ने किन अभाव भइरहेको छ बुझ्न नसकेको बताए । खानेपानी संस्थानले मात्र वितरण गर्दा एक दिन बिराएर पानी आउने गरेकोमा ‘मर्ज’ गरेपछि २ दिनमा पनि नआउने गरेको उनले बताए । उनले संस्थानले वितरण गर्दा १ दिन छोडेर ३ घण्टा राम्रोसँग पानी आउने भए पनि अहिले २ दिनमा पनि कहिले १० मिनेट, कहिले २० र बढीमा ३० मिनेट मात्र पानी आउने गरेको गुनासो गरे । 

राईले पहिले संस्थानका प्रमुखलाई पानी आएन भनेर समस्या सुनाउँदा केही समय पानी छोडिदिने गरेको सुनाउँदै अहिले बोर्डका प्रमुख राजु पोखरेलले त फोनसमेत नउठाउने गरेको दुःखेसो गरे । उनले धरानका राजनीतिक दलले खानेपानीमा राजनीति गरेको आरोप लगाए । उनले भने, ‘धरानका राजनीतिक दलले खानेपानीबाहेक राजनीति गर्ने मुद्दा पाएनन्, त्यसैले जनतालाई पानी खान पनि नदिई राजनीति गरिरहेका छन् ।’ 

यता धरान–१८ की सीता माझीले पनि बोर्डमा गतवर्ष जति पनि पानी नआउने गरेको बताइन् । धरान–१७ मा खानेपानी बोर्डले वितरण गरेको खानेपानी पनि गतवर्षभन्दा कम आउन थालेको उपभोक्ताले बताए । अहिले धरानमा सबै वडामा खानेपानीको हाहाकार मच्चिएको छ । 

यस विषयमा धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले संस्थानले जति पनि पानी वितरण गर्न नसकेको स्वीकार गरे । उनले उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्न नसकेको स्वीकार गरेका छन् । खानेपानी संस्थान ‘मर्ज’ हुने बित्तिकै संस्थानद्वारा सञ्चालित ४ वटामध्ये २ वटा वेल बिग्रिएकाले पानी आपूर्ति असहज भएको उनले बताए । 

खानेपानीका उपकरणहरू बिग्रिएकाले बनाउने काम भइरहेको पोखरेलले दाबी गरे । उनले चुहावट नियन्त्रण गर्न लागेकाले अब थोरै राहत मिल्ने बताए । तर, उनले सर्वसाधारणमा सहज खानेपानी आपूर्ति कहिले हुने भन्ने यकिन नभएको बताए ।