संखुवासभा । जिल्लाको सिलिचोङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । चालु आर्थिक बर्षमा १४७ जना श्रमिकहरुले काम सञ्चालन गरिरहेको गाउँपालिका क्षेत्रमा कामले तिव्रता संगै रोजगारका हिसावले पनि प्रभावकारी बनेको हो । 

सिलिचोङ गाउँपालिभित्रमा ३५२ जना बेरोजगारहरु सूचीकृत भएका छन् । उनीहरुमध्येबाट १४७ जना छनौट भई चालु आर्थिक बर्षमा काम गरिरहेको छ । पाँचै वडाबाट छनौट भएको बेरोजगार श्रमिकहरु यत्तिबेला विभिन्न वडामा विभिन्न प्रकारका काम गरिरहेका छन। गएको छन् ।

गत चैत्र पहिलो सातादेखि पालिकाको पाँच वटै वडामा काम सुरु भएको हो  । एक सय दिनका लागि दैनिक ५ सय १७ रुपियाँका दरले उनीहरुलाई सम्झौता गराईएको छ ।

सरकारी मापदण्द अनुसार वडा नं. ३ ताम्कु र वडा नं. १ सिसुवाखोलामा तीस तीस जना र वडा नं. २ बाला, वडा नं. ४ मांतेवा र वडा नं. ५ याफूमा २९/२९ जनाले काम गरिरहेको रोजगार सेवा केन्द्र सिलिचोङका रोजगार संयोजक राज कुमार कुलुङले जानकारी दिए ।

उनले कोरोना महामारी संगै प्राविधिक कारणले चाडै काम सुचारु गर्न नसकिएको भएपनि पछिल्लो समय तिव्र भईरहेको बताए । नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी पाँच वर्ष भित्रमा कुनै पनि नागरिकले वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको थियो ।

स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई रोजगारी प्रत्याभूति गरिने व्यवस्था गरेसंगै यो कार्यक्रम सञ्चालन सुरु भएको छ । 

रोजगार प्राप्त गरेका स्थानीय श्रमिकहरु गाउँमा नै रोजगार सृजना भएकोमा परिवारको खर्च व्यवस्थापनमा समेत सहज हुने भएको भन्दै खुसी छन् । देशमा बेरोजगार रहेका युवाहरुलाई देशमा त्यो पनि गाउँ गाउँमा विकास संगै रोजगारको व्यवस्था हुने आशा रहेको सिलिचोङ गाउँपालिका वडा नं. २ का श्रमिक माधव मेवाहाङले बताए ।

१ सय दिन भएपनि वेरोजगार रहेका आफुहरु आफ्नै ठाउँको विकास गर्न पाउँदा खुसी रहेको उनको भनाई छ । 

गाउँपालिका भित्रका गोरेटो बोटो निर्माण, सडक सोलिङ, सरसफाई, नाली निर्माण साथै सुक्खा गारो निर्माण लगायतका काम हुने गरि स्टिमेट सहितको सम्झौतासहित काम भई रहेको छ ।

बेरोजगार नागरिकलाई काम उपलब्ध हुने यो कार्यक्रमले प्रभावकारीताका साथ रोजगारसंगै विकासमा समेत नागरिकहरुले अनुभुती गर्ने गरेको गाउँपालिका अध्यक्ष राम बहादुर कुलुङको भनाई छ ।

उनले स्थानीय स्तरमा रहेको विकास निर्माणका काममा सोहि क्षेत्रको नागरिकहरुलाई सहभागी गराउँदा दिगो र उपलब्धीमुलक विकासमा समेत टेवा पुग्ने बताए ।