विजयपुर । इटहरी–धरानबीचको चारकोसे जङ्गलमा लागेको डढेलो नियन्त्रणमा आएको छैन ।

४ दिन अगाडिदेखि लागेको डढेलो १ सय ५० हेक्टर क्षेत्रमा फैलिएको वन कार्यालयका सूचना डिभिजन वन कार्यालयका इनरुवाका सहायक अधिकृत अखिलेसकुमार गुप्ताले जानकारी दिए ।

उनले इटहरी–धरान सडक–खण्डको पूर्व–पश्चिम क्षेत्रमा डढेलो लागिरहेको जानकारी दिए । उनले बाँझगरा सामुदायिक वन क्षेत्रमा पनि डढेलो लागेको बताए ।

डढेलो लाग्न सुरु भएकै दिनदेखि नियन्त्रणको प्रयास गरे पनि अहिलेसम्म नियन्त्रणमा आउन नसकेको डिभिजन वन कार्यालय सुनसरीका प्रमुख धनबहादुर श्रेष्ठले जानकारी दिए । 

उनले अहिले डढेलो नियन्त्रक, सशस्त्र वन डढेलो नियन्त्रक, वनका कर्मचारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको समूहले नियन्त्रणका लागि प्रयास गरिरहेको बताए । उनले चैत महिनामा पनि वर्षा नहुँदा अत्यधिक सुख्खा भएकाले रातदिन प्रयास गर्दा पनि डढेलो नियन्त्रणमा लिन नसकिएको बताए ।

उनले सुख्खा भएका कारणले नियन्त्रणमा लिन गाह्रो भइरहेको बताए । उनले अहिले डढेलो नियन्त्रणका लागि नेपाली सेना परिचालनका लागि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिरहेको बताए । उनले नियन्त्रणका लागि इनरुवादेखि बारुणयन्त्र आए पनि नियन्त्रण गर्न कठिन भएको जानकारी दिए ।

उनले जङ्गलमा बारुणयन्त्र प्रवेश गर्न रुखले अवरोध गरेकाले नियन्त्रणमा थप समस्या भएको बताए । डढेलो आफै नलागेको तर कसैले लगाइदिएको हुनसक्ने बताए । उनले सिकारीहरूले डढेलो लगाएको हुनसक्ने बताउँदै खोजी कार्य भइरहेको बताए । उनले बस्तीतर्फ भने डढेलो पस्ने जोखिम नरहेको बताए ।