इटहरी। सुनसरीको इटहरी–१२ स्थित खनारमा रहेको तिरुपति प्लाई उद्योगमा सोमबार बिहानदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट करोडौं रुपैयाँको क्षति भइसकेको छ ।
सोमबार बिहान करिब ७ बजेबाट लागेको आगो यो समाचार तयार पार्दासमेत नियन्त्रणमा आउन सकेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । आगलागी भएको उद्योग उद्योगी वसन्त राठीको हो ।
आगलागीबाट उद्योगमा रहेको कच्चापदार्थ, जिन्सीसहित महत्वपूर्ण कागजपत्र जलेको सोही उद्योगका कर्मचारी उमेशकुमार राउतले जानकारी दिए । राउतले भने, ‘उद्योगपरिसरमा भएका कच्चापदार्थ जलेर खरानी भएका छन् । आगो नियन्त्रणमा अझै आउन सकेको छैन ।’ सुरक्षाकर्मीसँगै १५ वटा दमकलले बिहानदेखि आगो निभाउने प्रयास गरे पनि नियन्त्रण नभएको राउतले बताए ।
बिहान ७ बजे कर्मचारीहरू काममा आउनुअघि नै आगलागी सुरु भएको राउतले बताए । सो उद्योगमा करिब ३ सय कर्मचारी कार्यरत छन् । आगलागी नियन्त्रणमा आइनसकेकाले कति मूल्य बराबरको क्षति भयो भन्ने यकिन हुन सकेको छैन ।
सप्तरी, सुनसरी, मोरङ र झापाका करिब १५ ओटा बारुणयन्त्र, विभिन्न निकायका सुरक्षाकर्मी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । तर, काठैकाठ राखिएको ठाउँ तथा हावाका कारण आगलागी नियन्त्रणमा लिन कठिनाइ भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।
लगभग तीन बिगाहा जमिनमा राखिएको प्लाई बनाउने काठमा आगलागी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । ‘हामीले आगो नियन्त्रणमा लिन हरदम प्रयास गरिरहेका छौं’ –इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी केसीले भने । आगलागीबाट करोडौंको क्षति भइसकेको अनुमान प्रहरीले गरेको छ ।
प्रहरी प्रशासन, कर्मचारी र गाउँलेहरूसमेत आगो नियन्त्रणमा सक्रियतापूर्वक लागिपरेका छन् । सुरक्षाकर्मीहरू समेत आगो नियन्त्रणमा लिन सक्रियतापूर्वक लागेका छन् । आगो नियन्त्रणमा नआएपछि समस्या भइरहेको ड्युटीमा खटिएका एक प्रहरी अधिकृतले बताए । तीन बिगाहा जति क्षेत्रफलमा राखिएको काठ र प्लाई जोगाउन कठिन भएको प्रहरीको भनाइ छ । आगो नियन्त्रमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटिएका छन् ।