इनरुवा। सवारी ज्यान मुद्दामा नक्कली चालक खडा गरिएको पाइएपछि सुनसरी प्रहरीले कोशी यातायात प्रा.लि.इटहरीका सञ्चालक समिति सदस्यसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
घटना ढाकछोप गरी वास्तविक चालकलाई जोगाउन खोजेको पाइएपछि सुनसरी प्रहरीले प्रालिका सञ्चालक समिति सदस्य जीवन खनालसहित नेत्रप्रसाद पाठक र अमितकुमार गुप्तालाई पक्राउ गरेको हो ।
प्रहरी अनुसन्धानको क्रममा ना.४ ख ५२९१ नम्बरको बसका चालक सिरहा घर भएका राजु थापाले दुर्घटना गराएको बसका चालकको सट्टामा अर्कै चालकलाई खडा गरी प्रहरीमा उपस्थित गराएको खुलेको छ । सो क्रममा प्रालिले समेत साथ दिएको खुलेको प्रहरीले बताएको छ ।
सो क्रममा थापाले अमितलाई प्रलोभनमा पारी ५० हजार दिने र अदालतबाट समेत छुटाइदिने भनेको खुल्न आएको प्रहरीको भनाइ छ । सोधपुछका क्रममा स्वयम् गुप्ताले सो कुरा बताएको प्रहरीले जनाएको छ ।
दुर्घटना गराउने नक्कली चालक बनाइएका व्यक्ति उपर शङ्का लागि सोधपुछको क्रममा घटना ढाकछोपको प्रयास गरी दोषी उम्काउन खोजिएकाले सो कार्यमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी प्रमुख कमल थापाले जानकारी दिए । थापाले जिम्मेवार व्यक्तिबाट भएको कार्य निन्दनीय रहेको समेत बताए ।
प्रहरीका अनुसार घटना २०७७ चैत १२ गते साँझको हो । पूर्वबाट पश्चिततर्फ जाँदै गरेको ना.४ ख ५२९१ नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे.६ प ८००० नम्बरको मोटरसाइकललाई कोशी गाउँपालिका–८ तीनकुने नजिक ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक इलाम घर भएका प्रहरी हवल्दार मेखबहादुर राई घाइते भएका थिए । गम्भीर घाइते राईको उपचारको क्रममा चैत १३ गते विराट नर्सिङ होम विराटनगरमा मृत्यु भएको थियो । घटनालगत्तै दुर्घटना गराउने बसका चालकको खोजी गरे पनि पहिचान खुल्न सकेको थिएन ।
सोही घटनालाई लिएर नक्कली चालक खडा गरी मुद्दा मिलाउन आएका उपर शङ्का लागि सोधपुछ गर्दा घटना ढाकछोप गर्न खोजिएको पाइएपछि प्रहरीले उनीहरू सबैलाई नियन्त्रणमा लिई कारबाही थालेको हो । प्रहरीले उनीहरूलाई सार्वजनिकसमेत गरेको छ ।