धरान। एनआइसी एसिया बैङ्क धरान शाखाले डिजिटल बैङ्किङअन्तर्गत धरानको तरकारी तथा फलफूल बजारमा ‘क्यूआर कोड सेवा’ सञ्चालनमा ल्याएको छ । 

नेपाल राष्ट्रिय बैङ्क विराटनगरका निर्देशक सत्यचन्द्र तिमिल्सिना र धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले संयुक्त रूपमा क्यूआर कोड सेवाको उद्घाटन गरे । भानुचौकस्थित तरकारी बजारमा क्यूआर कोड सेवा सुरु गरिएको हो । 

उपभोक्तालाई सहज गराउने उद्देश्यले बैङ्कले क्यूआर कोड सञ्चालनमा ल्याएको हो । उपभोक्ताले मोबाइल बैङ्किङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूलहरू खरिद गर्दा सिधै पसल सञ्चालकलाई भुक्तानी गर्न सक्ने सुविधा प्रदान गरिएको बैङ्कका उपप्रादेशिक कार्यालय धरानका प्रमुख दिवाकर भट्टराईले जानकारी दिए । क्यूआर कोड प्रभावकारी साथै सुरक्षित पनि मानिन्छ । बजारमा हिँड्दा रकम नबोकी नै कारोबार गर्न मिल्ने भएकाले प्रभावकारी मानिँदै आएको भट्टराईले जानकारी दिए । 

डिजिटल भुक्तानी गर्दा व्यापारी साथै ग्राहकलाई पनि खुद्रा पैसा लिनेदिने झन्झटबाट पनि मुक्ति मिल्छ । यसले गर्दा बचत गर्ने बानीको विकास हुने विश्वास बैङ्कले लिएको छ । क्यूआर कोडमार्फत् कारोबार गर्दा सहज र सुविधा हुने भएकाले पनि ग्राहकहरूलाई यो सेवा लिनका लागि बैङ्कले आग्रह गरेको छ । 

यस्ता कार्यक्रमले व्यापारी तथा ग्राहक दुवैलाई सहयोग पु¥याउने धरान उपमहानगरका प्रमुख तिलक राईले बताए । उनले डिजिटल युगमा प्रवेश गरिसकेको सन्दर्भमा यस्ता सेवा थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । बैङ्कले व्यवसायीहरूलाई क्यूआर कोड सेवाका लागि आफ्नो व्यवसायको प्रकृति खुलाएर सेवा लिन सक्ने जनाएको छ ।