धनकुटाको चुलीवनमा लागेको डढेलो बस्ती पसेपछि दुई घरमा क्षति पुगेको छ । 

स्थानीय धनबहादुर पौडेल र इन्द्रबहादुर रसाइलीको दुई घर र गोठ जलेको प्रहरीले जनाएको छ ।

धनकुटा सदरमुकामसँगै रहेको चुलीवन क्षेत्रमा शनिबार दिनभर डढेलो लागेको छ । जंगलको आगो बस्तीमा पसेपछि दुई घरमा क्षति पुगेको प्रहरी नायव उपरिक्षक सन्तु देशवारले जानकारी दिए ।

जोखिमयुक्त घरबस्ती जोगाउन धनकुटाका दुईसहित धरान, विराटनगर, इटहरी, दमक, वसन्तपुरसहित ७ वटा दमकल प्रयोग गरिएको थियो । 

हावाको वेग उच्च रहेकोले क्षति बढी भएको धनकुटा ७ का वडाध्यक्ष जंगबहादुर राईले बताए । क्षतिको पूर्ण विवरण आउन बाँकी छ । वनको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । 

घटनास्थलमा नेपाल सेना, सशस्त्र प्रहरी, तथा नेपाल प्रहरीका जनशक्ति परिचालन गरिएको छ ।