उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली पुगेको छ । बिजुली बलेपछि त्यस क्षेत्रका जनता हर्षित भएका छन् ।
उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली पुगेको उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतले जानकारी दिइन् ।
उपाध्यक्ष राउतका अनुसार गाउँपालिकाको विकट पाँच गाउँ करिब १५० घरधुरीमा बिहीबार पहिलोपटक बिजुली पुगेको छ ।
प्रदेश सरकारको एक करोड २० लाख रुपैयाँ र बलान सामुदायिक वनको सात लाख रुपैयाँ गरी कूल एक करोड २७ लाखको बजेटमा ती दुर्गम गाउँमा विद्युत् विस्तार गरिएको हो ।
‘हाम्रो गाउँमा पनि बिजुली आउँछ भन्ने कुरा सपनामा पनि सोचेको थिइनँ तर आज सपना पूरा भयो, विपनामा नै बिजुली बल्यो,’ बिजुली बलेपछि मैनीटारका ६७ वर्षीय गणेश अधिकारीले भने । सिरहा लहान शाखाको बलान कद्माहा खण्ड हुँदै उदयपुर गढी गाउँपालिकाको ती दुर्गम गाउँमा पहिलोपटक विद्युत् विस्तार भएको हो ।