बहुप्रतिक्षित तथा गौरवको योजना मेलम्ची खानेपानी आयोजनाको नवनिर्मित धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानीको औपचारिक वितरणको उद्घाटन गरेकी छन् ।

भृकुटी मण्डपमा आयोजित समुद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोख्रेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ लगायतका मन्त्री सहभागी भए । 

भृकुटी मण्डपमा नवनिर्मित ढुंगेधारामा साना ठूला गरी तीनवटा धारा छन् । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाएको छ ।

काठमाडौं उपत्यकावासीले आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् ।

शुक्रबारबाटै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर पानी वितरण सुरु गरेको छ ।