धरान। धरानबाट साङ्गीतिक यात्रा अगाडि बढाएकी गायिका विष्णु चेम्जोङ पछिल्लो समय अभिनयमा पनि उत्तिकै सक्रिय छिन् ।

लिम्बू संस्कृतिमा आधारित फिल्म ‘चेसुङ’ बाट फिल्ममा अभिनय गर्न थालेकी उनले ‘तारेभीर’ लगायतका फिल्ममा अभिनय गरिन् ।

पछिल्लो पटक अभिनेता शिव श्रेष्ठले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा काम गरेकी उनले हालसम्म पाँचवटा फिल्ममा अभिनय गरेकी छन् । हाल नयाँ फिल्मको तयारीमा रहेको उनी बताउँछिन् । फिल्मको नाम भने सार्वजनिक गरिएको छैन ।

सन् २००६मा पहिलो पटक आयोजना भएको नेपाल स्टारको विजेता बनेपछि नेपाली साङ्गीतिक क्षेत्रमा चर्चा कमाएकी विष्णु गायनसँगै म्युजिक भिडियोहरूमा पनि अभिनय गरिरहेकी छिन् ।

मिस नेपालमा समेत सहभागी बनेर ‘मिस ट्यालेण्ट’ टाइटल जितेकी विष्णु फिल्ममा अभिनय गरिरहे पनि उनी गायिकाका रूपमा बढी चिनिएकी छिन् ।

नेपालका विभिन्न ठाउँदेखि हङ्कङ, कोरिया, बेलायतलगायतका ठाउँमा पुगेर गायन प्रस्तुत गरिसकेकी उनी गायन र अभिनय दुवैलाई सँगै अघि बढाउने बताउँछिन् । उनी भन्छिन्, ‘फिल्म पनि गरिरहेकी छु, गीत पनि गाइरहेकी छु, दुवैलाई सँगै अगाडि बढाउँछु ।’