धरान । बालेन्द्र साह (बालेन) प्रधानमन्त्री बनेयता नेपालको शेयर बजार दिन प्रतिदिन घटिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल सरकार घोषणा भएयता शेयर बजार घट्ने क्रम रोकिएको छैन ।

रास्वपाले चुनाव जितेको एक साता मात्रै शेयर बजारमा सकारात्मक सर्किट लागेको थियो । तर बालेन्द्र प्रधानमन्त्री भएयता सर्किट त के बजार नै माथि उठ्न नसकेको कारोबार गर्दै आएका विभिन्न कम्पनीका प्रतिनिधिले जनाएका छन् । बजार नबढ्नुमा विशेषगरी ‘लगानीकर्ताहरूमा आत्मविश्वासको कमी’ देखिएको कम्पनीका प्रतिनिधिले बताए । “मेन कुरा लगानीवालामा आत्मविश्वास बढिरहेको छैन । बजार कुन मोडतिर जाने हो भनेर डराएका छन्” –एबीसी सेक्युरिटिज प्रा.लि.का धरानका प्रमुख योगेश अग्रवालले भने ।

कुनैबेला शेयर बजार ३२ सय बिन्दुसम्म पुगेको थियो । तर, अहिले दिन प्रतिदिन घटिरहेको छ । यो बीचमा सम्पत्ति शुद्धीकरणको नाममा उद्योगी, व्यवसायीहरूलाई पक्राउ गरेका कारणले पनि बजारमा प्रभाव परेको धेरैले बताउँदै आइरहेका छन् । बजार घटेर कुन बिन्दुसम्म आइपुग्ने हो भनेर कारोबार गर्दै आएका कारोबारीहरू नै अहिले ‘पर्ख र हेर’ को नीतिमा बसेका छन् । शेयर बजारमा लगानीकर्ताहरूले लगानीको प्रतिफल खोज्ने भएकाले पनि अहिलेको अवस्थामा प्रतिफल देखिने स्थिति नभएपछि लगानी गर्ने वातावरण नभएको लगानीकर्ताहरूको भनाइ छ ।

शेयर बजारमा कारोबार गर्दै आएका धरानका इन्द्रमणि बराल भन्छन्, “सरकारको स्थिरता छैन । के हुने हो भन्ने छ । उद्योगपति, व्यापारीहरूलाई पक्रिँदै आइरहेको छ । यसले पनि बजारमा पैसा निक्लिन सकेको छैन । यस्तो अवस्थामा बजार कसरी बढ्छ ?” उनका अनुसार बजारमा पैसा आउने वातावरण नभएसम्म अझै झर्छ । “बालेन सरकारमा बसेदेखि झरेको झर्याै छ । कहाँसम्म झर्ने हो थाहा छैन । मलाई त २४ सय ४० बिन्दुसम्म आउँछ जस्तो लाग्छ” उनले भने, “त्यसैले अहिले मैले खरिदबिक्री पनि खासै गरेको छैन । डेल्ली झरिरहेको छ ।”

धेरैले उद्योगी व्यवसायी पक्राउका कारणले शेयर बजारमा व्यापक प्रभाव परेको जनाएका छन् । अनलाइन सेक्युरिटिज लिमिटेड धरान शाखाका प्रबन्धक सुजन निरौलाका अनुसार रास्वपाको बढी सिट आउँदाको समयमा सर्किट लागेयता हालसम्म सर्किट लाग्न सकेको छैन । उनले पनि लगानीकर्ताहरूलाई यो सरकारले धरपकड गरिदिएका कारणले पनि लगानीकर्ताहरूमा आत्मविश्वास नदेखिएको बताए । “पोलिसीवाइज हेर्दा बजारका लागि पोजेटिभ नै छ तर पैसा लिएर आइहाल्ने अवस्था देखिँदैन” उनले भने, “व्यवसायीहरूलाई धरपकड गरेकै कारणले यस्तो भएको हो ।”

मङ्गलबार शेयर बजार सामान्य अङ्कले बढे पनि २६ सय ४१.८५ बिन्दुमा आइपुगेर रोकिएको छ । नेप्से परिसूचकका अनुसार ०.७९ अङ्कले मात्रै बढेको हो । यस दिन चार अर्ब ११ करोडको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । जसमा कुल ९५ करोड बढी कित्ता खरिदबिक्रीमा उक्त परिमाणको कारोबार भएको जनाएको छ । हाल नेप्सेमा २ सय ७९ कम्पनीहरू सूचीकृत छन् । अर्थविद् कृष्णकुमार अग्रवालका अनुसार सरकारको नीतिकै कारणले गर्दा शेयर बजारमा उत्साह देखिएको छैन । “तुरुन्त बढ्छ जस्तो चाहिँ लाग्दैन, बढिहालेमा कम्पनीहरूको साधारणसभा भएको बेलामा केही बढ्ला कि !”–उनले भने ।

यो अवस्था कहिलेसम्म रहला ? 
शेयर कारोबार गर्दै आएका प्रतिनिधिहरूका अनुसार यो अवस्था अझै केही समय लम्बिन सक्ने बताउँछन् । सामान्य बढ्ने, घट्ने हुनुलाई बजार राम्रो भएको मानिँदैन । अहिले सबैभन्दा बढी शेयर लगानीका हिसाबमा बैङ्किङ तथा वित्तीय क्षेत्रको छ । बैङ्किङमा निष्क्रिय कर्जा, खराब कर्जा एकदमै बढिरहेको छ । यस्तो अवस्थामा मुनाफा हुनसक्ने सम्भावना न्यून हुन्छ ।

एबीसी सेक्युरिटिजका धरान प्रमुख अग्रवाल भन्छन्, “बैङ्किङ सेक्टरमा लिक्विडिटी हाई भइरहेको छ । बैङ्कको डिफल्ट लोनहरू एकदमै उच्च छ । यस्तो अवस्थामा शेयर बढ्छ भन्ने सम्भावना न्यून हुन्छ ।” उनका अनुसार भाउ बढ्नका लागि कम्पनीमा आकर्षण हुनुपर्ने बताउँछन् । अहिले दुई चारवटा कम्पनीबाहेक अन्यको प्रतिफल आउने सम्भावना न्यून रहेको छ । लगानीकर्तालाई मिनिमम पाँचदेखि १० प्रतिशत प्रतिफल चाहियो । “या त किनेको शेयरको भाउ वृद्धि होस् या कम्पनीले वार्षिक प्रतिफल बाढोस् । तर त्यो अवस्था देखिरहेको छैन” –उनले भने ।

आउँदो माघसम्म यस्तै अवस्था रहन सक्ने अनुमान धेरै प्रतिनिधिहरूको छ । विशेषगरी सरकारले गत जेठ १५ गतेको बजेट भाषणमा आउने माघसम्ममा सम्पत्ति व्यवस्थापन कोष सञ्चालन गर्ने भनेर घोषणा गरेको अवस्था छ । यो घोषणा कार्यान्वयन भएमा चाहिँ केही सुधार हुने अपेक्षा गर्न सकिने बताउँदै आएका छन् ।

शेयर बजारमा सर्किट के हो ? 
शेयर बजारमा सकारात्मक र नकारात्मक दुई खालका सर्किट लाग्ने गरेको छ । यसबारे धेरै कारोबारी जानकार छैनन् । यो कस्तो अवस्थामा लाग्छ । हाल आएर सरकारले के के कुरामा परिवर्तन गरेको छ ? यसबारे पनि धेरै अनभिज्ञ छन् । विशेषगरी शेयर बजारमा हालै कारोबार गरिरहेका कारोबारी लगभग अनभिज्ञ देखिन्छन् ।

मार्केटमा सर्किट लाग्दा एउटा निश्चित नियम छ । यसलाई सामान्य भाषामा भन्दा कारोबार खुलेको दिनको पहिलो एक घण्टामा चार प्रतिशतका दरले बढेमा २० मिनेटको लागि कारोबार बन्द गर्ने प्रचलन थियो । यसलाई सामान्य भाषामा सर्किट भनिन्छ । बजार बढेमा सकारात्मक सर्किट हो भने घटेमा नकारात्मक सर्किट लागेको मानिन्छ । उदाहरणका लागि कारोबार खुलेको दिनको पहिलो घण्टा बिक्रीमा राखिएका कम्पनीहरूमध्ये चार प्रतिशतका दरले वृद्धि भयो भने त्यहाँ २० मिनेट सर्किट लगाउनु पर्ने प्रावधान राखिएको थियो ।

यदि दोस्रो घण्टा पाँच प्रतिशतका दरले बढेमा ४० मिनेट सर्किट लाग्ने चलन छ । अनलाइन सेक्युरिटिजका शाखा प्रबन्धक निरौलाका अनुसार पहिलो घण्टा ४ प्रतिशत, दोस्रो घण्टा पाँच प्रतिशत र त्यसपछि ६ प्रतिशतले बढेमा कारोबार नै रोकिन्छ । यसलाई सकारात्मक सर्किट भनिन्छ भने सोही अनुपातमा तल झरेमा पनि कारोबार रोकिन्छ । यसलाई नकारात्मक सर्किट भनिने उनले बताए ।

हाल आएर सरकारले सुरुको दुई घण्टासम्म पाँच प्रतिशतले बढेमा १५ मिनेट बजार रोकिने र ८ प्रतिशतले बढेमा कारोबार रोकिने गरी नियम बनाएको छ । बालेन सरकार आएपश्चात् गरिएको यो नयाँ नियम हो । यसअघि ४ प्रतिशत, पाँच प्रतिशत र ६ प्रतिशत कायम रहेकोमा अहिले आएर पहिलो दुई घण्टासम्मका लागि पाँच प्रतिशतको दर राखिएको छ भने ८ प्रतिशत बढेमा कारोबार ठप्प पार्ने नियम बनाइएको छ । सकारात्मक र नकारात्मक दुवै सर्किट लागेको अवस्थामा यो नियम लागू रहेको छ ।

यता कम्पनीहरूको हकमा भने १० प्रतिशतसम्म तलमाथि गर्न मिल्थ्यो । अहिले त्यसलाई बढाएर १५ प्रतिशत पुर्याइएको छ । यसलाई सामान्य भाषामा भन्दा कुनै पनि कम्पनीको शेयर बजार चार सय रुपैयाँमा बिक्री सुरु भएको छ भने त्यसलाई १० प्रतिशतसम्म बढाउन र घटाउन सक्ने नियम रहेको थियो । चार सयको १० प्रतिशत भनेको ४० रुपैयाँ र १० प्रतिशत कम भनेको ३ सय ६० रुपैयाँसम्म हो । अब भने १५ प्रतिशतसम्म बढाउन र घटाउन मिल्ने बनाइएको छ ।