विजयपुर । कोशी प्रदेशका १ सय ३७ स्थानीय तहमध्ये अझै ५८ वटा पालिकामा ट्राफिक प्रहरीको पहुँच नभएको पाइएको छ ।


कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि प्रदेशका ५८ पालिकामा ट्राफिक प्रहरीको उपस्थिति छैन ।


कोशी प्रदेशमा सवारी दुर्घटनाको संख्या भने पछिल्ला तीन वर्षमा निरन्तर बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०८०/८१ मा प्रदेशभर ३ हजार ५ सय ६३ सवारी दुर्घटना हुँदा ३ सय ९७ जनाको मृत्यु भएको थियो भने ६ हजार ७६ जना घाइते भएका थिए ।


आर्थिक वर्ष २०८१/८२ मा दुर्घटनाको संख्या बढेर ५ हजार ६ सय २६ पुगेको थियो । उक्त वर्ष सवारी दुर्घटनामा ४ सय १८ जनाको मृत्यु भएको थियो भने ९ हजार २ सय ४१ जना घाइते भएका थिए ।


त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा ६ हजार ४ सय १२ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ४ सय ४० जनाको मृत्यु भएको छ भने १० हजार ६ सय ८७ जना घाइते भएका छन् ।


प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लंघन गर्ने ९५ हजार ७७ वटा सवारीमाथि कारबाही गरिएको थियो । कारबाहीबाट ९ करोड ४१ लाख ७२ हजार ८ सय २४ रुपैयाँ जरिवाना संकलन भएको प्रहरीले जनाएको छ ।


बढ्दो सवारी दुर्घटनाको अवस्थाबीच प्रदेशका ५८ पालिकामा ट्राफिक प्रहरीको पहुँच नहुनुले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा थप चुनौती देखिएको छ ।