झापामा हात्तीपाइले रोग निवारणअन्तर्गत आम औषधि वितरण अभियान कार्यक्रमको तयारी पूरा भएको छ । स्वास्थ्य कार्यालय झापाले औषधि वितरणको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

चैत्र २० गतेदेखि चैत्र मसान्तसम्म झापाका १५ वटै स्थानीय तहमा अभियान सञ्चालन गर्नका लागि तयारी पूरा गरेको बुधबार बिर्तामोडमा आयोजित अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको हो । औषधि वितरण अभियानका लागि जिल्ला ६ सय जना स्वयमसेवक र ६ सय जना स्वास्थ्यकर्मी परिचालन गर्ने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।

झापामा रहेका ९ लाख ३३ हजार जनसंख्या मध्ये ८ लाख ४ हजार ५७ जनालाई औषधि खुवाइने कार्यक्रम रहेको संयोजक चम्लागाईले जानकारी दिए । 

झापामा गत वर्ष ५ सय ५४ जना हात्तीपाइलेका रोगी भेटिएको उनले बताए । ती मध्ये हाइड्रोशिल भएका ३ सय ७२ जना, हात र स्तनको समस्या भएका १ सय १० जना र खुट्टा सुन्निएका ७२ जना भेटिएका कार्यक्रम संयोजक चम्लागाईले बताए ।