यासोक। पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ र इलामको फाकफोकथुम गाउँपालिका–१ मा सञ्चालित ‘डिप बोरिङ खानेपानी योजना’ मा निर्माण कम्पनीले सम्झौता लत्याउँदा नागरिक काकाकुल बन्ने अवस्था सिर्जना भएको छ ।
काठमाडौंको पाथीभरा डिप बोरिङले निर्माण सम्पन्न गरेको थियो । निर्माण सम्पन्न भएको दुई वर्षसम्म प्राविधिक समस्या आएमा मर्मत गर्ने सम्झौता भए पनि खानेपानीको ‘प्यानल बोर्ड’ मा आएको समस्या निदान गर्नेतर्फ ठेकेदार कम्पनी र समितिले चासो नदेखाउँदा नागरिक काकाकुल बन्ने अवस्था आएको हो । दुई महिना १५ दिनअगाडि प्यानल बोर्डमा समस्या आएको थियो । हालसम्म बन्न नसक्दा नागरिकहरूले खोलाखोल्सी, मुहानबाट पानी ल्याएर पिउन बाध्य छन् ।
डिप बोरिङ खानेपानी समितिमार्फत् पाथीभरालाई ठेक्का दिइएको थियो । कम्पनीले फाल्गुनन्दमा १७ लाख र फाकफोकथुममा १५ लाख रुपैयाँ गरी कुल ३२ लाख रुपैयाँमा समितिले ठेक्का दिएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा समितिले ठेक्का दिएको हो । दुवै गाउँपालिकाको सीमामा रहेको पञ्चमी बजारका नागरिकलाई खानेपानी वितरण गर्न बोरिङ सञ्चालनमा आएको थियो ।
योजना सम्पन्न भएको केही समय नबित्दै ‘प्यानल बोर्ड’ मा समस्या देखिएपछि समितिले ठेकेदार कम्पनीलाई समस्याबारे जानकारी गराएको समितिका अध्यक्ष तेजु चेम्जोङले जानकारी दिए । उनका अनुसार ठेकेदार कम्पनीले उल्टो ५ लाख रुपैयाँ लाग्ने भनेर ‘बार्गेनिङ’ गरेपछि पानी खान नपाउने स्थिति सिर्जना भएको हो । समितिले डिप बोरिङको सफल परीक्षणपश्चात् बजारवासीलाई खानेपानी खुवाउँदै आएको थियो ।
सम्झौताअनुसार निर्माण कम्पनीले २४ लाख ७५ हजार रुपैयाँमा १ सय ७५ मिटर बोरिङ गर्नुपर्ने थियो । तर, पानी नआएपछि पुनः निर्माण व्यवसायीलाई समितिले २ सय ५० मिटर पु¥याए थप ५ लाख रुपैयाँ थप्ने मौखिक सम्झौता गरेको थियो । यता निर्माण कम्पनीका देवेन्द्र चम्लागाईंले पछिल्लो सम्झौताअनुसार ५ लाख १५ हजार ४ सय ८८ रुपैयाँ नपाएको दाबी गरे । उनी भन्छन्, ‘सम्झौताअनुसार २४ लाख ७५ हजार पाएका छांै बाँकी ५ लाख १५ हजार ७ सय ५० रुपैयाँ पाएका छैनौं ।’
उनका अनुसार समितिले गाउँपालिकाबाट ३१ लाख रुपैयाँ भुक्तानी लिएको देखिएकाले आफूहरूले पाउने रकम प्राप्त नगरेसम्म प्यानल बोर्ड दिँदैनौं । यता उपभोक्ता समितिका अध्यक्ष चेम्जोङले सम्झौताअनुसार रकम भुक्तानी गरिसकेको बताए । समितिका अध्यक्ष तेजु चेम्जोङले पनि ठेकेदार कम्पनीलाई २४ लाख ८६ हजार भुक्तानी दिएको र अन्य रकम पाइप, विद्युत् र तार खरिदमा खर्चिएको बताए । सम्झौताअनुसार निर्माण पक्षलाई मर्मत गर्न बोर्ड पठाएका थियौं तर, पैसा नदिएसम्म प्यानल बोर्ड फिर्ता नपठाउने भन्दै आएको उनले बताए ।
ठेकेदार र समितिबीचको सम्झौताका कारण उपभोक्ताले पानी पिउन नपाउनु गलत भएको घुर्बिसे पञ्चमी बजार व्यवस्थापन समितिका सचिव टीका सम्बाहाम्फेले बताए । बजारमा ७ सय ५० घरधुरीका ३ हजार जनसङ्ख्याले पानी पिउँदै आएका छन् ।
फाल्गुनन्द गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङले आफू उप निर्वाचनबाट निर्वाचित भएर आउनुभन्दा अगाडिको विषय भएकाले सत्य–तथ्य बाहिर ल्याउन पहल गर्दै आएको दाबी गरे । वास्तविकता बुझ्न र योजना सञ्चालन गर्न उपभोक्ता समिति र ठेकेदार कम्पनीसँग छलफल भइरहेको उनले बताए । ‘चाँडै निकासमा पुग्छौं’ –अध्यक्ष कुरुम्वाङले भने ।