धनकुटा। धनकुटा नगरपालिका वडा नं.७ मदनचोकमा रहेको अग्नी पिडित हाम्रो वहुमुखी पाठशालालाई धनकुटामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले सोमबार आर्थिक सहयोग गरेका छन् ।
जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अगुवाई राष्ट्रसेवक कर्मचारीहरुबाट स्वइच्छाले आर्थिक संकलन गरी ९३ हजार, ७ सय ७० रुपयाँ सोमवार एक औपचारिक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिएको हो ।
सहयोग रकम प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले हाम्रो वहुमुखी पाठशालाका धनकुटाका अध्यक्ष सरोज भुजेललाई हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले धनकुटाको साँस्कृतिक धरोहरको रुपमा रहेको बहुमुखी पाठशाला आगलागीको कारण लाखौं क्षति भएकोले रकम थोरै भएपनि मलम पट्टी होस भन्नाको खातिर सहयोग गरेको बताए ।
धनकुटामा कार्यरत सरकारी सेवाका सबै राष्ट्रसेवक कर्मचारीहरुले आफ्नो स्वविवेकले यस विपतको अवस्थामा गरेको सानो सहयोगले ठूलो अर्थ राख्ने प्रजिअ दाहालले बताए । उनले विपतको वेला सहयोग गर्नु मानव धर्म भएको औल्याए ।
सो अवसरमा सहयोगी मनहरुलाई हाम्रो बहुमुखी पाठशालाको तर्फबाट अध्यक्ष सरोज भुजेलले धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एस्पी गोविन्द अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी रामनारयण श्रेष्ठ, सशस्त्र प्रहरी प्रमुख रामचन्द्र श्रेष्ठ, राष्ट्रिय अनुशन्धानका प्रमुख तुलसी कट्टेल लगायत विभिन्न सरकारी कार्यालय प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।