इटहरी। जनता बहुमुखी क्याम्पस इटहरीकी प्रमुख गीता अधिकारी र सहायक क्याम्पस प्रमुख टोलनाथ काफ्लेलाई समाजवादी विद्यार्थी युनियनले क्याम्पसमै थुनेको छ ।
विद्यार्थीको मासिक शुल्क बढेको विषयमा विद्यार्थीका नेताहरूसहित क्याम्पस प्रमुखलाई थुनिएको हो । केही दिनदेखि आन्दोलनमा रहेको इकाई समितिले आफूहरूसँग समन्वय नगरी केन्द्रीय नेताहरू वार्तामा गएको भन्दै विरोध जनाएका हुन् ।
वार्तामा बसेकै समयमा आक्रोसित कार्यकर्ताले ताला लगाएका हुन् । वार्तामा बसेका नेतासहित प्रमुख र उपप्रमुखलाई २ घण्टा काठामै विद्यार्थीहरूले थुनेका थिए ।
नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी युनियनबीच एकता नहुँदै वार्तामा आउन खोज्नु दुःखद् भएको ताला लगाउनेमध्येका एक चन्द्र किरातीले बताए ।
‘क्याम्पस आइसकेपछि हाम्रो कुरा सुन्नै चाहेनन्’ उनले भने, ‘पछि हामी बिना वार्ता हुनुहुन्न भन्दा हामीलाई हेपेर बाहिर निकालियो ।’ यता क्याम्पसका सहायक प्रमुख काफ्लेले भने आफूहरू छलफलमा बसेकै बेला विद्यार्थीहरूले बाहिरबाट तालाबन्दी गरिदिएको बताए । ‘हामी करिब २ घण्टा कार्यालयभित्रै बस्नुपरेको थियो’ उनले भने, ‘विद्यार्थीहरूको आन्तरिक द्वन्द्वको कारण यस्तो भयो ।’