भण्टाबारी । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीका मिन्तुल मियाँलाई पहिले त आफूले पुस्तौंदेखि पिउँदै आएको ट्युबवेलको पानी स्वच्छ र सुरक्षित नै लाग्थ्यो । तर, अहिले बुझ्दै जाँदा स्वास्थ्यका लागि सुरक्षित हुँदोरहेछ भन्ने हेक्का भयो ।
सोमबार भण्टाबारी खानेपानी आयोजना पुनः सञ्चालनमा आएपछि हर्षित मुद्रामा भेटिएका मिन्तुलले भने, ‘पुस्तौंदेखिको बाध्यता अन्त्य हुने भएको छ । स्वच्छ र सुरक्षित पानी सर्वसाधारणले निरन्तर पाइरहनेमा आशावादी छु ।’
मिन्तुल मात्रै होइन, खानेपानी आयोजना सञ्चालनमा आएसँगै घर–घरमा खानेपानीको धारा पुगेपछि भण्टाबारीवासीमा खुशी छाएको छ । अर्का स्थानीय मुस्तुफ मन्सुरीलाई त घर आँगनमै पानीको धारा आउला भन्ने लागेकै थिएन । किनभने पुस्तौंदेखि ट्युबवेलकै पानी प्रयोग गर्दै आएका स्थानीयहरू १२ वर्षअघि सप्तकोशी बाँध फुटेपछि त झनै दूषित पानी पिउन बाध्य थिए । अहिले आफ्नै घरआँगनमा धारा देख्दा उनीहरू दङ्ग छन् । मुस्तुफ खुसी व्यक्त गर्दै भन्छन्, ‘सहर बजारमा धारामा पानी खाएको देखेको थिएँ, अब पानी आफ्नै घरआँगनमा खान पाइयो ।’
उक्त खानेपानी आयोजना वर्षौं बितिसक्दासमेत सञ्चालनमा नआएको बारे केही महिनाअगाडि ब्लाष्ट टाइम्समा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीसहितका जनप्रतिनिधिको सक्रियतामा भण्टाबारी खानेपानी आयोजना सञ्चालनमा आएको छ । तर, अझै पनि कोशी गाउँपालिका वडानम्बर १ लौकही, वडानम्बर ७ हरिपुरमा निर्माण गरिएका खानेपानी आयोजना अझै सञ्चालनमा आउन सकेको छैन ।
आठवर्षअघि सञ्चालनमा आए पनि केही दिनपछि नै भण्टाबारी खानेपानी आयोजना बन्द भएको थियो । जनताको घर–घरमा स्वच्छ पानी पु¥याउन भण्टाबारी खानेपानी आयोजना सञ्चालनमा ल्याइएको बताउँदै गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले जीर्ण अवस्थामा रहेका अन्य खानेपानी आयोजनासमेत छिट्टै सञ्चालनमा ल्याइने बताए ।
कोशी गाउँपालिका–८ मा अवस्थित भण्टाबारी खानेपानी आयोजना विश्व पानी दिवसको अवसर पारेर सोमबारबाट पुनः सञ्चालनमा ल्याइएको हो । खानेपानी आयोजना उद्घाटन गर्दै अध्यक्ष अन्सारीले भने, ‘स्वच्छ र सुरक्षित पानी पिउने सेवाग्राहीको धोको लामो कसरतपश्चात् पूरा भएको छ । हरिपुर र लौकही खानेपानी आयोजना पनि सञ्चालनमा ल्याउँछौं कोही जनता दूषित पानी खाएर बिरामी हुनुपर्ने अवस्था अब रहँदैन ।’
२०७१ सालमा साविक हरिपुर र श्रीपुर गाविस हाल कोशी गाउँपालिका वडानम्बर ६ र ७ का जनताको पहुँचमा स्वच्छ पानी पु¥याउने उद्देश्यले उक्त खानेपानी आयोजना निर्माण गरिएको थियो ।
कोशी गाउँपालिकाको ३५ लाख ५० हजार, आरआरएन सुनसरीको १७ लाख ९२ हजार ४ सय ५२ रुपैयाँ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको ४ लाख ९० हजार र स्थानीयको श्रमदानबाट उठेको २ लाख ४० हजार ४२८ रुपैयाँ गरी जम्मा ६० लाख ७२ हजार ८ सय ८० रुपैयाँ लागतमा भण्टाबारी खानेपानी आयोजना पुनः सञ्चालनमा आएको हो ।
ग्रामीणभेगका जनतालाई स्वच्छ पानी घर–घरमा पु¥याउने उद्देश्यका साथ खानेपानी आयोजना सञ्चालनमा ल्याउनु तारिफयोग्य कुरा भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनले भने, ‘यसको संरक्षण र सम्बद्र्धनमा सबैको साथ र सहयोग रहनेमा आशावादी छु ।’
जनतामा सुलभ दरमा स्वच्छ पानी पु¥याउने योजना रहेको हुनाले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई आवश्यकताअनुसार निरन्तर सहयोग गर्न अध्यक्ष अन्सारीले आग्रह गरे । आयोजना निर्माणकार्यमा सरसफाइ डिभिजन कार्यालयले सहयोग गरेको बताउँदै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरीका डिभिजन प्रमुख प्रदीपलाल कर्णले स्वच्छ पानी पु¥याउन सहयोग निरन्तर जारी रहने बताए ।
सबैको पक्षको सहयोगले सञ्चालनमा आएको भण्टाबारी खानेपानी आयोजनाबाट जनता लाभान्वित हुने भएकोले समयसापेक्ष जनचाहनाअनुसार खानेपानीको स्तरोन्नति गर्दै लाने खानेपानी आयोजनाका प्राविधिक सुशील कर्णले जानकारी दिए ।