विराटनगर। मोरङको जहदा गाउँपालिका–१ मा ११ वर्षीया बालिकामाथि भएको बलात्कार प्रयासको घटना गाउँमै मेलमिलाप गराउन खोजेको पाइएको छ ।
गत फागुन ६ गते ४ बजेको समयमा जहदा गाउँपािलका–१ का ४५ वर्षीय बोज भनिने राजेन्द्र सरबरियाले घरनजिकैको मकैबारीमा लगेर ती बालिकालाई बलात्कारको प्रयास गरेका थिए । ‘मामाको घरमा गएर हजुरआमाको घरतर्फ आउँदै थिएँ । बाटोमा राजेन्द्र सरबरियासँग भेट भयो ।
एक्कासि केही नभनी मेरो मुख थुनी केही बोल्न नदिई मलाई बोकेर मकैबारीमा लगेर लडाउनुभयो । निजले लगाएको पाइण्ट खोली मलाई जबरजस्ती करणी गर्न लाग्दा म त्यहाँबाट उठेर भागी हजुरआमाको घरमा आएकी हुँ’ –पीडित बालिकाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
ती बालिकामाथि सरबरियाले बलात्कारको प्रयास गरेपछि न्यायको लागि पीडित बालिकाकी हजुरआमाले गाउँका भद्रभलाद्मी मानिने जहदा गाउँपालिका–१ का मिजलेश भनिने शानदेव सरबरिया र बोका भनिने पर्शुराम सरबरियासँग हारगुहार गरेकी थिइन् । तर, उनीहरूले यस्तो घटना गाउँमा मिलापत्र गराउनुपर्ने भन्दै पीडित परिवारलाई एक सातासम्म प्रहरी कार्यालय जान नदिई गाउँमै मिलाउने प्रयास गरेको पाइएको हो ।
उनीहरूबाट न्याय नपाउने भएपछि पीडित बालिकाकी हजुरआमाले गाउँका खट्रबहादुर गुरुङको सहयोगमा इलाका प्रहरी कार्यालय रानी विराटनगरमा १२ फागुनमा उजुरी दर्ता गराइन् । प्रहरीमा उजुरी दर्ता गराएको तीन दिनपछि इप्रका रानीले जबरजस्ती करणीको प्रयास गरेको उद्योगमा राजेन्द्रलाई १४ फागुनमा पक्राउ गरेको छ ।
प्रहरीले उनलाई भारतबाट पक्राउ गरेर ल्याएको हो । बलात्कार प्रयासको घटना गाउँमा मिलापत्र गराएको आरोपमा पर्शुरामलाई पनि प्रहरीले पक्राउ गरेको छ भने शानदेव फरार छन् । प्रहरीले उनको पनि खोजी कार्य तीव्र बनाएको इप्रका रानी विराटनगरका प्रमुख इन्स्पेक्टर दीपक थापाले बताए ।
‘बालिकामाथि बलात्कारको प्रयास गरेको घटनाको पीडितले उजुरी दिएपछि अहिले दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ’ इन्स्पेक्टर थापाले भने, ‘यस घटनामा प्रतिवादी राजेन्द्रले बलात्कारको प्रयास र पक्राउ परेका अर्का प्रतिवादी पर्शुरामले घटना मिलापत्र गराउने प्रयास गरेको अनुसन्धानबाट खुल्न आएको छ ।’ पक्राउ परेका दुवैलाई मोरङ अदालतमा जबरजस्ती करणी उद्योगमा म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
घटना मिलाउन प्रयास गर्ने शानदेव र पर्शुराम बलात्कारको प्रयास गर्ने राजेन्द्रका आफन्त हुन् । त्यसैकारण उनीहरूले समाजमा घटेको जघन्य अपराधको घटनालाई गाउँमा मिलाउन लागिपरेको खुलेको हो ।
छिमेकीलाई धम्की
गाउँका अगुवाबाटै बालिका बलात्कारको प्रयास भएको घटना प्रहरीमा लिएर गएको भन्दै स्थानीय र पीडितका आफन्तलाई जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादी र उनका आफन्तले धम्की दिने गरेका छन् ।
पीडित र उनका परिवारलाई न्यायको लागि प्रहरीमा लैजान भूमिका खेलेको भन्दै प्रतिवादीका आफन्तले धम्की दिने गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार शान्ति सुरक्षाको माग राख्दै उनीहरूले निवेदन दर्ता गराएका हुन् ।
जिप्रका मोरङमा निवेदन दर्ता गराउनेहरूमा परमेश्वर सरबरिया, खट्रबहादुर गुरूङ र जगनाथकुमार राय कुर्मी रहेका छन् । ‘प्रतिवादी र प्रतिवादीका आफन्तले डर, त्रास, गालीगलौज, ज्यान मार्ने धम्की दिएको कारण हामी र पीडित बालिकाको संरक्षक असुरक्षित रहेकाले भोलिका दिनमा कुनै किसिमको अप्रिय घटना हामीमाथि घट्न गए सो को सम्पूर्ण जिम्मेवारी प्रतिवादीहरू हुनपर्दछ’ –जिप्रमा मोरङमा दिएको निवेदनमा उल्लेख छ । उनीहरूले प्रशासनमा निवेदन दर्ता गराएपछि मङ्गलबार मोरङ प्रहरीलाई शान्ति सुरक्षा कायम गराउन जिल्ला प्रशासन कार्यालय मोरङले पत्राचार गरेको छ ।
यस्तो हुनसक्छ सजाय
बलात्कारसम्बन्धी घटनामा मिलापत्र गराउनेलाई पनि सजाय हुने कानूनी व्यवस्था छ ।
गत मङ्सिर २१ गतेबाट अध्यादेशमार्फत् यस्तो व्यवस्था लागू भएको हो । करणीसम्बन्धी कसुर भएपछि निज वा निजको परिवारलाई कुनै प्रकारको डर, धम्की दिई करकापमा पारी कुनै किसिमको लेनदेन वा त्यस्तो कसुर, मञ्जुरी नगर्न, जाहेरी नदिन, अदालतमा उपस्थित नहुन मञ्जुर गराउन, पीडित परिवारको सदस्यबीच मेलमिलाप, मिलापत्र गराउन वा सो को लागि प्रभाव र दबावमा पार्न नहुने कानूनी व्यवस्था छ ।
यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने कानूनी व्यवस्था छ । यस्तो कसुर गर्ने व्यक्ति सार्वजनिक पद धारण गरेको भएमा भने करणीसम्बन्धीको सजायमा थप ६ महिना कैद सजाय हुने कानूनी व्यवस्था रहेको छ ।