वडाध्यक्ष कम्मर पछाडि हात बाँधेर उभिएका छन् । बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष टुक्रुक्क कुर्सीमा । आँगन कालोपत्रे हुने भएपछि घरमुलीहरु भित्तामा अडेस लागेर ट्वाल्ट्वाल्ती हेरिरहेका छन् ।
यता ठेकेदार भने ‘यी यसरी उडाउनुपर्छ धुलो’, भन्दै कामदारलाई धुलो बताउन सिकाउँदैछन् । धान पाकेर झाँटी सकेपछि बोरामा हाल्नु अघि खलामा धान बताइन्छ । कामदार धान बताएजस्तै धुलो उडाइरहेका देखिन्थे ।
ठेकेदार हरि राउत कामदारलाई धुलो उडाउन सिकाउँदै । तस्बिरः ब्लाष्ट
धरान उपमहानगरपालिका वडा नं. ९ सिद्धिविनायक पथ ४०० फिट कालोपत्रे बाटो पुनर्निर्माण भइरहेको छ । यस अघि नै तीन पटक कालोपत्रे भइसकेको बाटो चालु आर्थिक वर्षमा विनियोजित वडागत बजेटबाट मर्मतसम्भार हुँदैछ ।
१ लाख ६० हजार जनश्रमदान र ८ लाख रुपैयाँ वडा नं. ९ ले विनियोजन गरेको छ ।
धरान ९ का वडाध्यक्ष रत्नबहादुर कट्वाल अनुगमन गर्दै साथमा स्थानीय । तस्बिरः ब्लाष्ट
हेर्दा देखिन्छ– वडाध्यक्ष रत्न कटुवाल उपभोक्ता समितिले गरिरहेको कामको अनुगमन गरिरहेका छन् । उपभोक्ता समितिका अध्यक्ष आफूले जिम्मा लिएको कामको प्रत्यक्ष निगरानी गरिरहेका छन् । ठेकेदार कामदारलाई दत्तचित्त भएर काम गर्न सिकाइरहेका छन् । उपभोक्ता जनश्रमदान गरेको मिथ्या नजाओस् भनेर कामको खबरदारी गरिरहेका छन् ।
तर यी सबैले आआफ्नो उत्तरदायित्व निर्वाह गरेजस्तो देखिए पनि एउटा रमित भने उदेक लाग्दो छ ।
ठेकेदार हरि राउत कामदारलाई बाटोको धुलो नाङ्लोले कसरी उडाउने भनेर सिकाइरहेका छन् । ठेकेदार राउतले सिकाए जसरी नै कामदार पनि बाटोको धुलो नाङ्लोले उडाइरहेका छन् ।
धरान ९ का वडाध्यक्ष रत्नबहादुर कट्वाल अनुगमन गर्दै साथमा उपभोक्ता समितिका अध्यक्ष राजकुमार निरौला । तस्बिरः ब्लाष्ट
कालोपत्रे गर्नु अघि सतहको धुलो उडाइन्छ । त्यसलाई मट्टितेलको प्रयोग गरेर सफा बनाइन्छ । र, प्रिमियमका लागि तयार गरिन्छ । अनि माथिबाट कालोपत्रे लगाइन्छ ।
सतहको धुलो राम्रोसँग उडेको छैन भने कालोपत्रे बलियो हुँदैन । त्यसलाई उडाउनका लागि ‘कम्प्रेसर’ वा ‘ब्रुमर’ को प्रयोग गरिन्छ । यहाँ धुलो उडाउने कम्प्रेसर नहुँदा नाङ्लोको प्रयोग गरेको देखिएपछि एकछिन रमिता लागेको छ ।
कुचोले बढारेर, ब्रस लगाएर, कम्प्रेसर लगाएर समेत धुलो प्रभावकारी रुपमा नउड्ने हुँदा सतहमा मट्टीतेलको प्रयोग गरी सफा गरिन्छ । तर नाङ्लोले धुलो उडाउँदै कालोपत्रे खन्याउँदै गर्दासम्म जनप्रतिनिधि, उपभोक्ता समितिका अध्यक्ष र स्थानीय उपभोक्ता हेरिरहेका छन् ।
‘काम राम्रो होस् भनेर हामी आफैंले पनि खबरदारी गरिरहेका छौं, थोरै लगानीमा उपभोक्ताले गरेको काम प्रभावकारी होस् भनेर लागि रहेका छौं’, निर्माणाधीन कालोपत्रे सडक उपभोक्ता विनोद अग्रवालले भने, ‘तर यसरी नाङ्लोले धुलो उडाइँदैछ, राम्रो पिच हुँदैन भनेको, सामान नपाएर विकल्प लिएको भन्छन् प्राविधिकहरु ।’
उपभोक्ता अग्रवालले माटो सफा भएन भने पिच राम्रो नहुने हुँदा राम्रो सफा गरेर मात्र कालोपत्रे हाल्न आग्रह गरेको बताउँछन् ।
कामदार परिचालक तथा स्थानीय ठेकेदार हरि राउतले भने कम्प्रेसर (धुलो उडाउने मेसिन) खोज्दा पनि नभेटिएको बताए । उनी भन्छन्, ‘रिपिचमा कम्प्रेसर हानिंदैन ।’
उपभोक्ता समितिका अध्यक्ष राजकुमार निरौलाले भने कामदारलाई राम्रो काम गराउनका लागि आफैं लागि परेको बताए । उनले वैकल्पिक रुपमा सामग्रीको प्रयोग गरेर भए पनि काम सम्पन्न गर्ने बताए ।
वडाध्यक्ष रत्नबहादुर कट्वाल भने स्थानीय उपभोक्ता प्रति आफू जिम्मेवार रहेकाले प्रायः योजनाहरुको अनुगमनमा आफैं जाने बताए । भइरहेको कामलाई दीगो र प्रभावकारी बनाउन लागि पर्ने बताए । उनले कम्प्रेसरको विकल्पमा नाङ्लोको प्रयोग भइरहेको बताए । नाङ्लोसँगै ब्रसले पनि सतहको धुलो फ्याँक्ने जानकारी दिए ।
कुचोले बढार्ने, ब्रस लगाउनेलगायतका घरेलु प्रविधिलाई स्थानीय ठेकेदारले प्रयोग गरेको देखिए पनि नाङ्लोले धुलो उडाएको पहिलो पटक देखेको भन्दै स्थानीयले रमाइलो लागेर हेरेको प्रतिक्रिया दिए ।