विराटनगर। चालु आर्थिक वर्षको आठ महिनामा प्रदेश १ मा ४ हजार ६ सय ८९ थान मुद्दा दर्ता भएको पाइएको छ । 

प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६÷०७७ को फागुन महिनासम्ममा उक्त सङ्ख्यामा मुद्दा दर्ता भएको हो । प्रदेशमा मुद्दा दर्ता भएकामध्ये लागूऔषध मुद्दा सबैभन्दा बढी रहेको छ ।

फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिबाना फैसला भई फरार भएका ५ सय ३९ जना फरार प्रतिवादी पक्राउ परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी विपिन कार्कीले जानकारी दिए । फरार प्रतिवादी पक्राउबाट ६ सय ४२ वर्ष कैद भुक्तान भई  २ करोड ३ लाख ४२ हजार ७ सय ४४ रुपैयाँ राजश्व सङ्कलन भएको छ । 

यसैगरी लागूऔषध नियन्त्रणतर्फ विशेष ध्यान दिई व्यापकरूपमा प्रहरी परिचालन गरेर १ हजार ६ सय ५१.६८१ ग्राम ब्राउनसुगर बरामद भएको छ । भारतदेखि तस्करी भई नेपाल आएको ब्राउनसुगर महँगो मूल्यमा बिक्री वितरण हुने गरेको छ । यहाँ ल्याइपु¥याउँदा प्रतिडोज ३ हजार देखि ५ हजारमा बिक्री हुने गरेको सुरक्षा निकायको भनाइ छ । ब्राउनसुगर झापाको काँकडभिट्टा नाकादेखि सबैभन्दा बढी अवैध रूपमा भित्रिने गरेको छ । 

यस्तै प्रहरीले ११ हजार ३१ केजी गाँजा चालु आर्थिक वर्षको आठ महिनामा बरामद गरेको छ । भन्सार चोरी निकासीतर्फ अवैध रूपमा सामान चोरी निकासी गर्ने १ सय ४२ जना पक्राउ परेका छन् । १३ करोड १८ लाख ६ हजार ८ सय ६ रुपैयाँ राजस्व सङ्कलन भएको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ । 

यस्तै नदीजन्य पदार्थको अवैधरूपमा दोहन गर्ने १ सय ४० मानिस पक्राउ परेका छन् भने ५ सय ९८ वटा नदीजन्य पदार्थ उत्खनन् गर्ने र ओसार–पसार गर्ने सवारी साधन नियन्त्रणमा लिई कारबाही गरिएको छ । सवारी साधन कारबाही गरी ४५ लाख ६६ हजार ७ सय २० रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसैगरी अवैध काठ चोरी निकासी गर्ने ४१ जना मानिस पक्राउ परेका छन् ।

२ हजार ३७ क्यु.फिट काठ बरामद गरी ३० लाख ९५ हजार २ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसैगरी ट्राफिक व्यवस्थापनतर्फ ८ महिनामा मात्र ट्राफिक नियम उल्लङ्घन गर्ने १ लाख ७९ हजार ३ सय ४९ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

कारबाहीमा परेका सवारी साधनबाट ११ करोड १७ लाख २६ हजार  राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । प्रदेशभरिमा कुल २७ करोड १५ लाख ३७ हजार ४ सय ७० रुपैयाँ  राजस्व सङ्कलन भएको प्रदेश प्रहरीले जनाएको छ ।