इटहरी। इटहरीका निजी कलेजहरूले कलेज नलागेको समयको समेत शुल्क असुलेको भन्दै विद्यार्थीहरू स्वतःस्फूर्त आन्दोलित भएका छन् । इटहरीका कलेजहरूले नै विद्यार्थीहरूबाट विभिन्न बहानामा अनावश्यक शुल्क असुलेको भन्दै विद्यार्थीहरूले दैनिकजसो आन्दोलन गरिरहेका छन् ।
इटहरीको विश्व आदर्श कलेजमा कक्षा १२ अध्ययनरत नीमा तामाङले आफूहरूलाई कलेजले मानसिक यातना दिने गरेको बताए । कलेजले नपढेको समयको शुल्कसमेत असुलेको भन्दै विद्यार्थीहरू विद्यार्थी सङ्गठन बिना नै आन्दोलित भएको बताए । पैसा नदिए शिक्षकहरूले प्रयोगात्मक परीक्षामा फेल गराइदिने धम्की दिएको तामाङको भनाइ छ ।
इटहरीको विश्व आदर्श, कस्तुरी, कोशी, शुष्मा, नमुनालगायत आधा दर्जन बढी निजी कलेजका सयौँ विद्यार्थीहरूबाट शुल्क असुल्न बहानाबाजी गरेको विद्यार्थीहरूले बताए । कलेजहरूले विभिन्न बहानामा विद्यार्थीहरूबाट शुल्क असुल्ने गरेको विद्यार्थीहरूको गुनासो छ ।
इटहरीको कस्तुरी कलेजमा कक्षा १२ मा अध्ययनरत निश्चल पौडेल भन्छन्, ‘जम्मा सात महिना पढाइ भएको छ, अहिले कलेजले विभिन्न बहाना बनाएर १२ महिनाको नै शुल्क मागिरहेको छ ।’ उनले कलेजले १२ कक्षाको फारम भर्नुअगाडि नै वर्षभरिको सबै शुल्क मागेकोले आफूहरू समस्यामा परेको गुनासो गरे ।
इटहरीको कोशी कलेजकी सुमिना डाँगीले अनलाइनबाट कक्षा सञ्चालन भएको पनि कलेजले शुल्क असुलेको बताइन् । विभिन्न बहानामा शुल्क असुलेको भन्दै विद्यार्थीहरूले इटहरी उपमहानगरपालिका घेराउसमेत गरेका छन् । विद्यार्थीहरूले निजी कलेजहरूको मनपरीतन्त्र रोक्न मागसमेत गरेका छन् । केही दिनदेखि कलेज कलेजमै विद्यार्थीहरूले आन्दोलन गरेका थिए । विश्व आदर्श कलेज र कस्तुरी कलेजमा विद्यार्थीहरूले नाराजुलुस गरेका थिए ।
यता इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद सुवेदीले भने उपमहानगर र कलेज प्रशासनबीच छलफल भए पनि कुनै निर्णय भइनसकेको प्रतिक्रिया दिए । ‘हामीले विभिन्न चरणमा विद्यार्थी र कलेज प्रशासनबीच छलफल गरी वास्तविकताको नजिक पुगेर उचित निर्णय गर्नेछौँ’–उनले भने । विद्यार्थीहरूले निजी कलेजविरुद्ध गरेको आन्दोलनबारे जानकारी भएको भन्दै यस विषयमा आफूहरू गम्भीर भएको जनाए ।
नेपाल विद्यार्थी सङ्घ सुनसरीका सभापति मन्दीप भट्टराईले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको माग कलेजहरूले सम्बोधन गर्नुपर्ने बताए ।
लकडाउनको समयको शुल्कसमेत लिएको विरुद्धमा विद्यार्थीहरूले गरेको आन्दोलनमा ऐक्यबद्धता रहेको नेविसङ्घका सभापति भट्टराईको भनाइ छ । विद्यार्थीहरूको जायज मागलाई कलेजहरूले सम्बोधन गर्नुको विकल्प नभएको विज्ञप्तिमा भनिएको छ ।