धनकुटा। धनकुटा नगरपालिका–६ सिरानबजार निवासी ८६ वर्षीय धनबहादुर ब्लोन तामाङले बुधबार साँझ आफ्नो घरमा पाकिसकेको खाना खान र सुत्न नपाइएला भनेर कल्पना पनि गरेका थिएनन् ।
बुधबार धनबहादुरको घरमा अचानक आगलागी भएपछि उनले आफ्नो घरमा न सुत्न पाए, न त खान नै । धनबहादुर र उनकी ७८ वर्षीया श्रीमती विष्णुमाया घिसिङ तामाङ साँझको खाना बनाइसकेर एकछिन बजार घुम्न निस्किएका थिए । एकछिनपछि घरमा आगो सल्कियो । आगोले उनीहरूको गाँस र बास दुवै खोस्यो ।
तामाङ परिवारको २ तले ढुङ्गामाटोले बनेको कच्ची घर जलेर नष्ट भएको छ । घरमा आगो लागेको देखेपछि छिमेकीले उनीहरूलाई खोजे । तर, तामाङ दम्पती बजारमा घुमघाम गरिरहेका थिए । घरमा २ छोरी, २ नातिनी, छोरा, बुहारी गरी ८ जनाको परिवार बस्दै आएका थिए । तर, परिवारका अरू सदस्य पनि घरमा थिएनन् ।
न्यून आर्थिक अवस्थाको तामाङ परिवारले धनकुटा बजारमा मजदुरी गरेर जीविकोपार्जन गरिरहेको थियो । आगलागीले गर्दा आङमा लगाएको लुगाबाहेक सबै खरानी भएको वृद्ध धनबहादुरले बताए । उनी ३२ वर्ष पहिले धनकुटाको मुगा गाविसको साविक वडा नं. १ थाक्लेबाट धनकुटा आई बसेका थिए ।
आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन, नगद १० हजार, आठआना सुनलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको उनीहरूले बताएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । घरनजिकै सडक नभएकाले दमकलको प्रयोग गर्न नसकिएको प्रहरीले जनाएको छ । घर पूर्णरूपमा जलेपछि तामाङ परिवार छिमेकीको घरमा बसेका छन् । आगलागीबाट १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए ।
आगलागीको कारण स्पष्ट खुल्न नसके पनि खाना पकाइसकेर निकालिएको कोइला राम्रोसँग ननिभाउँदा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घरभित्र अगेनोमा आगो रहेको र त्यही अगेनोनजिकै रहेको बाँसको भाटामा आगो सल्किएर आगलागी भएको प्रहरीले अनुमान गरेको छ ।