धरान/नेवाः पत्रकार राष्ट्रिय दवू जिल्ला कार्य समिति सुनसरीको पाँचौ अधिवेशनले मोहन श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ । 

झिगु समाजको हलमा बुधबार आयोजित अधिवेशनले समितिको उपाध्यक्षमा मञ्जु शाक्य, सचिवमा विक्की श्रेष्ठ, सहसचिवमा लक्ष्मण श्रेष्ठ र कोषाध्यक्षमा रश्मी प्रधानलाई चयन गरेको हो । यसैगरी सदस्यहरूमा अनिता श्रेष्ठ, स्नेहा श्रेष्ठ, सौरभ श्रेष्ठ, विक्रान्त श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ र अनिल श्रेष्ठ रहेका छन् । समितिको पहिलो बैठकले नेवारी सङ्घसंस्थासँग चैत ९ गते अन्तरक्रिया कार्यक्रम गर्दै पदस्थापन गर्ने भएको अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार वैशाखमा आधारभूत पत्रकारिता तालिम पनि गरिने निर्णय भएको छ । निवर्तमान अध्यक्ष विनय प्रधानले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरे । अधिवेशनको उद्घाटन नेवाः पत्रकार राष्ट्रिय दवू सुनसरीका संस्थापक अध्यक्ष एवम् सल्लाहकार महेश श्रेष्ठलगायतले गरे । उनले २०६७ सालमा संस्था स्थापना गर्दा ओखलढुङ्गाका उज्जैन श्रेष्ठको हत्याको विरोधमा धरानमा र्याली निकाल्दा माओवादी पक्षले कार्यक्रम नै विथोल्न खोजेको अवस्थाबाट गुज्रिँदै आजको अवस्थामा आइपुगेको बताए । 

अर्का सल्लाहकार आनन्द श्रेष्ठले सबै जातजातिको भातृ संस्था भइरहँदा नेवारी समुदायको हकहित, संस्कृति, संस्कारका विषयमा नेवार पत्रकारहरूले पनि भूमिका खेल्नुपर्ने बताए । संस्थापक सचिव तथा सल्लाहकार भोला श्रेष्ठले धरानको सुनसरीबाट स्थापना गरेर हाल देशभरका ६५ वटा जिल्लामा समिति रहेको बताए । निर्वाचन मण्डलका निर्वाचन अधिकृत महेश श्रेष्ठले सर्वसम्मत समिति चयन गराउन सफल भएको बताए । निर्वाचन मण्डलका सदस्य आनन्द श्रेष्ठले पदाधिकारीको नाम सार्वजनिक गरेका थिए ।