धरान। धरानमा सिटी सफारीको ठक्करबाट पैदल यात्रु किशोर विकको ज्यान गयो । विकलाई ठक्कर दिएर ज्यान लिएपछि धरानका सिटी सफारी चालक मानबहादुर लिम्बूलाई अव के कारबाही हुन्छ ? यसै भन्न सकिने अवस्था छैन ।
मान्छेको ज्यान नै गएपछि विद्युतीय सिटी सफारी चालक र धनीहरूका लागि धरान–१५ श्याम चोकमा सोमबार राति भएको दुर्घटनाले नयाँ पाठ भने सिकाएको छ ।
त्यो पाठ भनेको जेल जानबाट बच्नका लागि लाइसेन्स (सवारी चालक अनुमति–पत्र) लिनुपर्ने, रोड इजाजत, कम्पनी मोडलमा सफारी सञ्चालन हुनुपर्ने, यातायात व्यवस्था विभागमा पञ्जीकरण भएको हुनुपर्ने रहेछ भन्ने नै हो । तर, विशेषगरी प्रदेश १ का तीन जिल्ला(झापा, मोरङ र सुनसरी) मा सञ्चालन भइरहेका करिब ३५ हजार सिटीसफारी चालकमध्ये ९९ प्रतिशत चालकसँग सवारी अनुमति छैन । पञ्जीकरण, रोड इजाजत र कम्पनी मोडलमा दर्ता त परैको कुरा भयो ।
यातायात व्यवस्था विभागले तोकेको नियमअनुसार लिखित र ट्रायल पास गरी लाइसेन्स नै नलिई सिटीसफारी चलाउँदै आएका धरान–१५ बस्ने ४३ वर्षीय मानबहादुर लिम्बूले चलाएको सफारीले ठक्कर दिएर धरान–५ देउरालीका ३५ वर्षीय किशोर विकको ज्यान गएपछि इलाका प्रहरी कार्यालय धरानले भने सवारी ज्यानसम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाएको छ । लिम्बूसँग सवारीचालक अनुमति–पत्र (लाइसेन्स) भएको भए मृतकको परिवारलाई कानूनले तोकेअनुसार क्षतिपूर्ति दिए पुग्थ्यो ।
सफारी र सफारी चालकको समस्या दिनदिनै झन्–झन् जटिल बन्दै आइरहेको इटहरीस्थित यातायात व्यवस्था विभागका सूचना अधिकृत श्यामकुमार लिम्बूले बताए । उनले भने, ‘नियम, कानून अनुसार सफारी चालकसँग लाइसेन्स हुनै पर्छ । यतिमात्रले पनि पुग्दैन, सफारीको रोड इजाजत, कम्पनी मोडलमा सञ्चालन, पञ्जीकरण भएको पनि हुनुपर्छ ।
तर, अधिकांश सफारी चालकसँग लाइसेन्स छैन । लाइसेन्स नै नभएपछि यस्ता दुर्घटनामा चालकले मृतकको परिवारलाई क्षतिपूर्ति त दिनै पर्यो । जेल सजाय नै भोग्नुपर्छ ।’
अढाई तीन लाख रुपैयाँमा खरिद गर्न सकिने र ब्याट्री चार्ज गरेर दिनभर कुदाउन सकिने भएकाले पहिले रिक्सा कुदाउनमध्ये अधिकांशले सफारी चलाउने गरेका छन् । सहरी क्षेत्रका सफारीले सडक जाम गर्ने भएकाले सरकारले हाई–वेमा चलाउन प्रतिबन्ध नै गरेको छ ।
तर, रोजीरोटीको सवाल भएकाले ०७६ असोज ५ गते जारी भएको प्रदेश सवारी तथा यातायात ऐन बनाएर सफारी र चालक व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको थियो । स्थानीय तहले सफारी व्यवस्थापन गर्न नसकेपछि ट्राफिक प्रहरीको टाउको दुखाइको विषय बन्दै आएको छ ।
सूचना अधिकृत लिम्बूका अनुसार अहिले सफारीको व्यवस्थापन लथालिङ्ग छ । न प्रदेश सरकारले हेर्न सकेको छ, न त स्थानीय तहले नै । उनले भने, ‘जब यस्ता दुर्घटना आइपर्छन्, तब समस्या झन् जटिल बन्ने गरेको छ । लाइसेन्स नै नभएपछि तिनै सफारी चालक जेल जानुपर्ने अवस्था आउँछ ।’
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार चालक लिम्बूले मादक पदार्थ सेवन गरेर चलाएको को.१ ह ७८५९ नम्बरको सफारीले पैदलयात्री विकलाई ठक्कर दिएर ज्यान लिएको उजुरी परेको छ । उजुरीमा लिम्बूलाई कडा कारबाहीको दायरामा ल्याउन माग पनि गरिएको छ ।
डिएसपी बस्नेतले भने, ‘सवारी चालक अनुमति पत्र नभएकाले सवारी ज्यान मुद्दाअनुसार कडा कारबाही हुन सक्छ । लिम्बूलाई नियन्त्रणमा लिएर सुनसरीस्थित जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।’